असार २१,काठमाडौँ । बेलायतमा लेबर पार्टी ऐतिहासिक जितका साथ १४ वर्षपछि सत्तामा फर्किने भएको छ ।
आम चुनावमा लेबरले अहिलेसम्म ३९५ सिट जितिसकेको छ, जुन बहुमतभन्दा बढी हो । नराम्रो हार व्यहारेको कन्जरभेटिभ पार्टीले भने १०४ सिट मात्र जितेको छ ।
६५० सदस्यीय संसदमा सरकार बनाउन ३२६ सिट जित्नुपर्छ । योभन्दा बढी सिट जितिसकेको लेबर पार्टी २०१० पछि सत्तामा फर्किने पक्का भयो । यदि लेबरले ४१० सिट जिते सन् १९९७ मा टोनी ब्लेयरको समयपछि लेबरको सबभन्दा ठूलो जित हुनेछ ।
बेलायतमा राजाले सबभन्दा धेरै सिट जितेको दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।
लेबर पार्टीका नेता किअर स्टार्मर प्रधानमन्त्री हुनेछन् । उनी आफूलाई वर्किङ क्लासको पृष्ठभूमिबाट आएको बताउँछन् । उनका बुवा एक टूलमेकर थिए भने आमा नर्स । अक्सफोर्ड विश्वविद्यालयबाट कानुन पढेका स्टार्मरले मानवअधिकार कानुनमा विशेषज्ञता हासिल गरेका छन् ।
उनले अफ्रिकामा गएर मृत्युदण्डको सामना गरिरहेका कैदीहरुको मुद्दा लडेका थिए । ९० को दशकमा उनले तथाकथित म्याक्लिबेल कार्यकर्ताको मुद्दा निःशुल्क लडेका थिए ।
म्याकडोनल्ड्स कर्पोसरन भर्सस स्टील एण्ड मोरिस १९९७ केसलाई म्याक्लिबेल मुद्दाका रुपमा चिनिन्छ । म्याकडोनल्ड्स कर्पोसरनल कम्पनीको आलोचना गर्ने पर्यावरण कार्यकर्ताविरुद्ध मानहानीको मुद्दा चलेको थियो, जसले म्याकडोनल्ड्स कम्पनीको पर्यावरणसम्बन्धी दाबीमा प्रश्न गरेको पर्चा बाँडेका थिए ।