असार २२,काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आन्दोलन र संगठन बिस्तारलाई एकसाथ अघि बढाउने निर्णय गरेको छ। राप्रपाका शीर्ष नेतृत्व तह र स्थानीयस्तरका अगुवाहरूको संयुक्त भेलाले सो निर्णय गरेको हो।
केन्द्रीय कार्यालय, धुम्बाराहीमा शुक्रबार सम्पन्न काठमाडौं उपत्यकाकेन्द्रित छलफलले महानगरपालिका, नगरपालिका र गाउँपालिकाअन्तर्गत वडा तहसम्म चुस्त संगठन बनाउने निर्णय लिएको हो।
राप्रपाका पूर्वअध्यक्ष पशुपतिशमशेर राणाले उपत्यकाभित्र संगठन निर्माणमा लाग्नुपर्ने बताए।
संगठन विभागद्वारा आयोजित भेलालाई सम्बोधन गर्दै उनले भने, ‘पृथ्वीनारायण शाहदेखि हालसम्म जुनै पनि सन्दर्भमा उपत्यकाको रणनीतिक महत्त्व रहँदै आएको छ। यसलाई मनन गरेर महत्त्वका साथ उपत्यकाभित्र संगठन निर्माणमा लाग्नु पर्दछ।’
राप्रपाका निर्देशन समिति अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले ठूला दलले गर्ने भनिएको संविधान संशोधनको क्षेत्रमा गम्भीर भएर सोंच्नुपर्ने बताए।
‘ठूला भन्ने दलहरू संविधान संशोधनको बहानामा साना दललाई निमिट्यान्न पार्न लागेका छन्। यो अवस्था घोषित रूपमै सार्वजनिक भएको छ। त्यसकारण संशोधन भनेर मात्र पर्याप्त हुँदैन, के र कस्तो संशोधन भन्ने सवालमा गम्भीर भएर सोंच्नुपर्दछ,’उनले भने।स्थानीय तहमा वडा स्तरसम्म चुस्त संगठन बनाउने राप्रपाको निर्णय