भाद्र ५, वीरगञ्ज । विकास निर्माणको काम ठेक्का अथवा उपभोक्ता समिति मार्फत हुने टुङ्गो नै नलागेको अवस्थामा मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउतले मसानघाटको शिलान्यास गरिरहेको पाइएको छ ।
मधेस सरकारले आफूअन्तर्गत रहेका मन्त्रालयहरूको रेड बुकमा परेका विकास निर्माणका कामहरूको सुरुवात गर्न अख्तियारी नै नदिएको खण्डमा पूर्व मुख्यमन्त्री राउतले वीरगञ्जमा एउटा मसानघाटको शिलान्यास कार्यक्रम आयोजना गरेको पाइएको हो ।
राउतले शिलान्यास गर्न लागेको वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ को सिङहा नदीस्थित मसानघाट कुन प्रक्रिया अपनाएर निर्माण हुने, कसले निर्माण गर्ने, बजेट कहाँबाट आउने, कसरी बन्ने जस्ता आधारभूत विषयको टुङ्गो समेत लागेको छैन । निर्माणका लागि मधेस सरकारबाट अख्तियारी समेत उपलब्ध भएको छैन ।
पर्सा निर्वाचन क्षेत्र नम्बर १ ९ख० का प्रदेशसभा सदस्यसमेत रहेका राउतले वीरगञ्ज – १६ का वडाध्यक्ष परशुराम चौरसीयासँग मिलेर कुनै किसिमको अख्तियारी नै नपाएको मसान घाटको निर्माण सुरु गर्न शिलान्यास कार्यक्रम आयोजना गरेका हुन् ।
मसानघाट शिलान्यास पश्चात् त्यसको निर्माण के कसरी हुने जस्ता आधारभूत विषयहरू समेत हालसम्म टुङ्गो नलागेको अवस्थामा राजनीतिक स्टन्टबाजीका लागि राउतले शिलान्यास कार्यक्रम आयोजना गरेको स्थानीयहरूले गुनासो समेत गरेका छन् ।
वीरगञ्जस्थति पूर्वाधार विकास कार्यालयका प्रमुख दीपक कुमार मिश्रका अनुसार पनि विकास निर्माणको कामहरू सुरुवात गर्न मधेस प्रदेश सरकारबाट हलसम्म आफूहरूले अख्तियारी नपाएको खण्डमा कुनै आधार बिना नै शिलान्यास कार्यक्रम राखिएको छ ।
‘ख्वै कुन अधिकारले उहाँहरूले शिलान्यास कार्यक्रम आयोजना गर्नुभएको छ । शिलान्यास भइरहेको मसानघाटका लागि बजेट कहाँबाट आउने, के मार्फत निर्माण हुने जस्ता विषयहरू टुङ्गो नै नलागिसकेको अवस्थामा के आधारमा पूर्व मुख्यमन्त्रीले शिलान्यास गर्नु भइरहेको छ भन्ने कुरा हामीले बुझ्न सकेका छैनौँ,’ मिश्रले भने । मधेस प्रदेश सरकारको एउटा मन्त्रालयले आफ्नो रेड बुकमा बजेट छुट्ट्याएको आधारमा मात्रै शिलान्यास कार्यक्रम गर्न नमिल्ने उनको तर्क छ ।
निर्माण काम कसरी र कहाँबाट हुने, बजेटको व्यवस्थापन कहाँबाट हुने जस्ता आधारभूत विषयहरू टुङ्गो नै नलगाएको अवस्थामा शिलान्यास कार्यक्रम किन राखिएको हो भन्ने बुझ्न वीरगञ्ज ( १६ का वडाध्यक्ष चौरसीयालाई फोन गर्दा उनले रेडबुकमा बजेट देखिएको आधारमा शिलान्यास कार्यक्रम आयोजना गरिएको कुतर्क गरे । उनले रेडबुकमा बजेट देखिँदैमा शिलान्यास गर्न मिल्ने बताए ।
काम कसरी हुने थाह नै नभएको अवस्थामा पूर्व मुख्यमन्त्री राउत र वडाध्यक्ष चौरसीयाले शिलान्यास कार्यक्रमको आयोजना गरेर जनतालाई मूर्ख मात्र बनाइरहेको भन्ने कुरा स्पष्ट हुन्छ । अख्तियारी र काम गर्ने बजेटको सुनिश्चितता नै नभएको विकास निर्माणको शिलान्यास गर्दा यसमाथि अख्तियार अनुसन्धान आयोगले समेत छानबिन गर्नुपर्ने स्थानीयहरूले बताएका छन् ।
दिपु वर्णवाल मधेस प्रदेशका संवाददाता हुन् । उनि सामाजिक तथा राजनीतिक विषयमा कलम चलाउछन् ।