गण्डकीमा २ मन्त्रालय थपेर ९ वटा बनाउने कांग्रेस र एमालेबीच सहमति

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र १३, बिहिबार (७ महिना अघि)
  • ९१ पटक पढिएको
गण्डकीमा २ मन्त्रालय थपेर ९ वटा बनाउने कांग्रेस र एमालेबीच सहमति

भाद्र १३, काठमाडौँ ।  सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेबीच गण्डकी प्रदेश सरकारमा नौ मन्त्रालय बनाउने सहमति भएको छ । गण्डकी प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री रहेको हालको मन्त्रिपरिषद् ७ सदस्यीय रहेको छ ।

नयाँ सत्ता समीकरणअनुसार एमाले पनि सरकारमा सहभागी हुने भएपछि मन्त्रालयको सङ्ख्या बढाउने सहमति भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जानकारी दिए । “कांग्रेसले मुख्यमन्त्रीसहित पाँच र एमालेले चार मन्त्रालय लिने सहमति भएको छ”, उनले भने, “आगामी आइतबारसम्ममा मन्त्रालयको बाँडफाँड टुङ्गाएर मन्त्रीहरुको शपथ गराउने तयारी भइरहेको छ ।”

कुन दलले कुन मन्त्रालय लिने भन्ने विषयमा अझै सहमति हुनसकेको छैन । मख्यमन्त्री पाण्डेले आफूलाई विश्वासको मत दिने नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्न लिएर निर्वाचित नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा र स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङलाई समेत समेटेर सरकार पुनःगठन गर्ने कांग्रेसले जनाएको छ ।

यसअघि एमाले संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री हुँदा मन्त्रालय सङ्ख्या १२ बाट घटाएर सातमा पुर्‍याइएको थियो । अहिले दलहरूबीच मन्त्रालयको बाँडफाँड मिलाउन फेरि मन्त्रालय थप्ने सहमित भएको छ । मन्त्रालयको सङ्ख्या र बाँडफाँडमा सहमति नजुट्दा सङ्घीय सरकार बनेको दुई महिना बित्नलाग्दासमेत गण्डकीमा नयाँ समीकरण अनुसारको सरकार बन्न सकेको थिएन ।

गण्डकी प्रदेशसभामा एमाले संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले मन्त्रालय थप गर्दा त्यसको औचित्य पुष्टि गर्ने चुनौती भने दलसामु रहेको बताए । उनले संविधानले दिएको अधिकार भन्दैमा धेरै मन्त्रालय बनाउनु उपयुक्त नहुने र त्यसलाई नागरिकले पनि नरुचाउने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस