भाद्र २६, विराटनगर । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले फेरि आमरण अनसन बसेका छन् । कार्कीले प्रदेश सरकारसँग विभिन्न ९ वटा माग राख्दै मंगलबार दिउँसो ४ बजेदेखि आमरण अनसनमा बसेका थिए । तर निषेधित क्षेत्रमा आमरण अनसन बसेको भन्दै प्रहरीले कार्कीलाई अनसन स्थलबाटै नियन्त्रणमा लिएर निवास अगाडि पुर्याएर छाडेको थियो ।
जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबार ३ बजेदेखि कोशी प्रदेश सभाको गेट अगाडिको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । बुढीगंगास्थित घर छोडेर प्रहरी फर्के लगत्तै कार्कीले पुनः विराटनगरस्थित देवकोटा चोकमा अनसन सुरु गरेका छन् । अनसन बसेको स्थल देवकोटा चोकबाट उठाएर उनलाई प्रहरीले निजी निवास लगे पनि कार्कीले गैरकानुनी काम गरेको भए थुनामा राख्न अन्यथा अनसनमै बस्न दिन माग गरेका हुन् ।