पोखराको नगर युवा परिषद्ले ल्यायो पञ्चवर्षीय रणनीतिक कार्य योजना

पोखराको नगर युवा परिषद्ले ल्यायो पञ्चवर्षीय रणनीतिक कार्य योजना

असोज ३,काठमाडौँ । पोखरा महानगरपालिका नगर युवा परिषद्ले पञ्चवर्षीय रणनीतिक कार्य योजना महानगरलाई बुझाएको छ । युवाका लागि बिशेष कार्यक्रम ल्याउन परिषद्‌ले (असोज ३) संविधान दिवसको अवसरमा नगरप्रमुख धनराज आचार्य र प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापालाई रणनीतिक योजना बुझाएको हो । लामो तयारी र पोखराको माटो सुहाउदो योजना र रणनीति ल्याइएको युवा परिषदका उपाध्यक्ष सन्तोष न्यौपानेले अनलाइनकेन्द्रलाई बताए ।

युवा परिषद्का उपाध्यक्ष सन्तोष न्यौपानेले पञ्चवर्षीय योजनामा युवा रोजगारलाई प्रमुख प्राथमिकता दिइएको दाबी गरे । पछिल्लो समय बढिरहेको युवा पलायन रोक्न विभिन्न योजनाहरु समावेश गरिएको उनको भनाई छ ।

त्यसका लागि विदेशबाट फर्किएका रिटर्नीहरुका लागि र प्राविधिक शिक्षालाई जोड दिने गरी पनि योजना ल्याइएको न्यौपानेले बताए । ‘पूरा गर्न नसकिने योजनाहरु ल्याएका छैनौं । युवाको माग युवाले नै बुझ्दछन् भन्ने अवधारणाअनुसार उनीहरुकै सहभागितामा विभिन्न चरणमा छलफल पछि मात्रै यो रणनीतिक योजना ल्याइएको हो’, उनले भने ।

पञ्चवर्षीय रणनीतिक योजना कार्यान्वयनका लागि प्राथमिकताका क्षेत्रहरु तोकिएको र त्यसमा परिषद् आफैंले गर्ने वा अन्य निकायसँग समन्वय पनि गरिने न्यौपानेले बताए ।

पञ्चवर्षीय रणनीतिक कार्य योजना कसरी तयार पारियो ?

१० सदस्यीय मस्यौदा समितीले तयार पारेको योजना तथा रणनीतिक कार्ययोजनालाई एकाउण्टविलीटी ल्याव नेपालको सहयोग रहेको थियो । पहिलो चरणमा २० वटा विषयगत विज्ञहरुसंग छलफल गरेर मस्यौदा तयार गरिएको थियो । मस्यौदालाई पहिलो चरणमा पोखरामा सक्रिय संघसंस्थाहरुबीच छलफल गराइएको थियो ।

त्यसपछि दोस्रो चरणमा राजनीतिक दल तथा वैचारिक संगठनहरुमा छलफल चलाइएको थियो । तेस्रो चरणमा अपाङ्गता भएका व्यक्तिहरुबीच छलफल गरिएको थियो । चौथो चरणमा पोखरा महानगरपालिका सबै शाखा तथा उपशाखाहरुका कर्मचारीसंग छलफल गरिएको थियो । भने अन्तिममा वडा कार्यालयका जनप्रतिनिधि,सरोकारवाला निकायसंग छलफल गरिएको थियो ।

सबै सरोकारवालासंग छलफलपछि मस्यौदालाई आवश्यक परिमार्जन सहित पञ्चवर्षीय रणनीतिक कार्य योजनालाई मुर्त रुप दिइएको उपाध्यक्ष न्यौपानेले बताए ।

महानगरको साधन स्रोतले भ्याउने र आगामी दिनमा समय अनुकुल हुनेगरी पञ्चबर्षिय योजना ल्याइएको उनको भनाई थियो । न्यौपानेले नेपालका स्थानीय तहमा यो नै पहिलोपटक निर्माण गरिएको पञ्चवर्षीय रणनीतिक कार्य योजना रहेकोले अन्य स्थानीय तहलाई समेत यसले सहयोग पुर्याउने बताए ।

के–के परे प्राथामिकता ?

  • विदेशबाट फर्किएका रिटर्नीहरुका लागि र प्राविधिक शिक्षालाई जोड
  • युवामैत्री स्थानीय तहको निर्माण,
  • समय अनुकुल युवाको बुझाईलाई जोड,
  • विदेश पलायन रोक्न नयाँ रणनीति र कार्यक्रम,
  • स्वास्थ्य,खेलकुद र सामाजिक सुरक्षामा जोड,
  • अन्तराष्ट्रिय मञ्चमा युवाको उपस्थिती,
  • पोखरा महानगरको सम्भावना,
  • संस्कृति र पुरातात्विक सम्पदाको संरक्षणको रणनीति

ताजा अपडेट

खोजी गर्नुहोस