कार्तिक ३, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका २० भन्दा बढी नेता तथा कार्यकर्ताहरूले रास्वपा परित्याग गर्दै जनमत पार्टीमा प्रवेश गरेका छन् । शनिबार वीरगञ्जको लक्ष्मी पार्टी प्यालेसमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा पर्सा जिल्लाको छिपहरमाई गाउँपालिकाबाट युवा नेता सागर यादवको नेतृत्वमा ठूलो संख्यामा नेता–कार्यकर्ताहरू जनमत पार्टीमा प्रवेश गरेका हुन् ।
जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफका अनुसार, सागर यादवको नेतृत्वमा अमित यादव, अनवर मन्सुरी, लालदेव साह, सुनिल यादव, मनिष यादव, राजन यादव, उपेन्द्र यादव, विक्रम साह, सुनिल साह लगायत २० भन्दा बढी कार्यकर्ताले रास्वपा छोडेर जनमत पार्टीमा प्रवेश गरेका छन् । कार्यक्रममा जसपा, कांग्रेस, एमाले लगायतका दलका अन्य ५० भन्दा बढी कार्यकर्ताले पनि जनमत पार्टीमा प्रवेश गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि जनमत पार्टीका केन्द्रिय राजनीतिक समिति सदस्य देवेन्द्र मिश्र र जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले पार्टीमा प्रवेश गरेका नेता–कार्यकर्ताहरूलाई अबीर टीका लगाएर स्वागत गरे । रास्वपा परित्याग गरेका युवा नेता सागर यादवले रास्वपाको शीर्ष नेतृत्वमा रहेको भ्रष्टाचार र गैरकानूनी गतिविधिहरूका कारण पार्टीमा रहन कठिन भएको बताउँदै वैकल्पिक शक्ति मानिएको जनमत पार्टीमा प्रवेश गरेको जनाए ।
कार्यक्रममा जनमत पार्टीका वीरगञ्ज महानगर पर्यवेक्षक डा अजय गुप्ताको अध्यक्षतामा जनमत पार्टीका केन्द्रीय सदस्य बिद्यालाल प्रसाद, नेता अनुराग द्विवेदी, नेतृ रम्भा मिश्रा लगायतको उपस्थिति रहेको थियो ।
दिपु वर्णवाल मधेस प्रदेशका संवाददाता हुन् । उनि सामाजिक तथा राजनीतिक विषयमा कलम चलाउछन् ।