मंसिर ९,काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेस बेल्ट एण्ड रोड इनिसिएटिभ परियोजना (बीआरआई)का विषयमा पार्टीभित्रै साझा मत बनाउने प्रयासमा जुटेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको मिति नजिकिँदै गर्दा चीन भ्रमणअगावै सत्ता साझेदार एमालेसँग साझा धारणा तय गर्नुपर्ने भएकाले कांग्रेस पहिले आन्तरिक सहमती जुटाउन छलफलमा लागेको हो ।
आगामी मंसिर १७ देखि प्रधानमन्त्री ओलीको चीन भ्रमण हुने गरी सरकारले गृहकार्य गरिरहेको छ । यही भ्रमणका अवसरमा बीआरआई कार्यान्वयन योजना सम्झौतामा नेपाललाई हस्ताक्षर गराउन चीनले चाहिरहेको छ । तर यहाँका सत्तारूढ दलहरूबीच नै बीआरआई कार्यान्वयन योजना सम्झौताका विषयमा मत मिल्न सकेको छैन । प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली मुलुकको आर्थिक अवस्था हेरेर चीनबाट अनुदान मात्रै लिने सवालमा सहमत भए पनि बीआरआई कार्यान्वयन योजना सम्झौता गर्नुपर्ने पक्षमा छन् । कांग्रेसका नेताहरूबाट भने बेग्लाबेग्लै राय आइरहेको छ ।
कांग्रेसका कतिपय नेताले देशको स्वार्थलाई केन्द्रमा राखेर सम्झौतामा हस्ताक्षर गर्दा फरक नपर्ने मत राखिरहेका छन् भने कतिपयले भूराजनीतिक अवस्थिति हेरेर अहिले यसमा प्रवेश नै गर्न नहुने तर्क गरिरहेका छन् ।