सरकारी वकिललाई प्रहरीले बुझायो रवि लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ पौष १, सोमबार (४ महिना अघि)
  • ३२ पटक पढिएको
सरकारी वकिललाई प्रहरीले बुझायो रवि लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन

पुस १,काठमाडौँ । नेपाल प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान सकाएको छ । आजै प्रहरीले रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय, पोखराका डीएसपी वसन्त शर्माले सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको जानकारी दिए ।

प्रहरीले लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा कारबाहीका लागि माग दाबी गर्दै प्रतिवेदन बुझाएको बताइएको छ ।

कास्कीको सूर्यदर्शन सहकारी संस्थामा बचतकर्ताले राखेको रकम अनियमितता भएको प्रकरणमा संलग्न पुष्टि हुने निष्कर्षसहित प्रहरीले प्रतिवेदन बुझाएको अधिकृतहरूले बताएका छन् ।

‘सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लगेर जथाभावी खर्च गरेको देखिएको र यसको रकम तिर्ने कार्यमा लामिछाने सरिक भएको स्पष्ट देखिन्छ’, एक अनुसन्धान अधिकृतले भने, ‘यस्तोमा उनी ठगीमा संलग्न रहेको पुष्टि हुने पर्याप्त आधारहरू भेटिएका छन् ।’

प्रहरीले अनुसन्धानका क्रममा लामिछानेले विभिन्न सहकारीलाई ऋण तिर्न काटेको चेक पनि बरामद गरेको छ । यसलाई लामिछाने सहकारी ठगीमा संलग्न बलियो प्रमाणका मानिएको छ ।

प्रहरीका अनुसार, गोर्खा मिडिया र सुप्रिम सहकारीमाथि अनुसन्धानका क्रममा लामिछानेले काटेको चेक फेला परेपछि उनलाई चेकको प्रतिलिपि देखाएरै सोधपुछ गरिएको थियो ।

लामिछानेले चाहिँ आफू गोर्खा मिडिया नेटवर्कमा प्रबन्ध निर्देशक हुँदा कतिपय अवस्थामा अत्यावश्यक कामका लागि रित्तो चेक काटेर घर्रामा छाड्ने गरेको जिकिर गरेका थिए । उनले भनेका छन्, ‘ड्रयरमा राखेका बेला अरु कसैले त्यो चेकमा नाम लेखेर पठाएको हुन सक्छ ।’

पोखराको सूर्यदर्शन सहकारीबाट सुरु भएको लामिछानेमाथिको अनुसन्धानपछि अरु चार सहकारी अनियमितताको छानबिनसम्म पुगेको थियो । सूर्यदर्शनसँगै काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा चितवन र वीरगञ्जको सानो पाइला सहकारीमा बचतकर्ताको रकम अनियमिततामा प्रहरीले लामिछानेसँग बयान लिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस