माघ ४, सिन्धुपाल्चोक । चार सय ३१ किलो रक्त चन्दनसहित सिन्धुपाल्चोकका माओवादी नेता ज्ञानबहादुर तिमल्सिनासहित दुई जना पक्राउ परेका छन् ।
बलेफी गाउँपालिका–८ का स्थानीय माओवादी नेता तिमल्सिना र काठमाडौँ १४ का रमेश थापालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु प्रहरी टोलीले पक्राउ गरेको हो । तिमल्सिना र थापाले रक्त चन्दन कहाँबाट ल्याएका हुन भन्नेबारेमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।
यसअघि तस्करहरूले २०६० को दशकतिर भारतबाट अवैध रूपमा नेपालको अरनिको सडक बाटो हुँदै चीनको खासामा रक्त चन्दन पुर्याउने गरेको प्रहरीको तथ्याङ्क छ । अवैध मानिएको रक्त चन्दनसहित तिमल्सिना पक्राउ परेपछि तातोपानी नाकाबाट तस्करीको रूपमा रक्त चन्दन निर्यात हुने गरेको तथ्य खुलेको छ । भारतबाट तिमल्सिना र उनको समूहले यसअघि पनि ठुलो परिणाममा रक्त चन्दन खासातर्फ तस्करी गरेको खुल्न आएको थियो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यकानुसार तिमल्सिना र थापालाई गैर कानुनी रूपमा अवैध वन पैदावार रक्त चन्दन कारोबार गर्न लागेको प्रहरीलाई गोप्य सूचना मिलेको थियो ।