गैरआवासीय नागरिकतासम्बन्धी अध्यादेश गलत ढंगबाट आयो : बरिष्ठ उपाध्यक्ष पाण्डे

  • अनलाइन केन्द्र
  • / नेकपा एस /
  • २०८१ माघ ६, आईतबार (३ महिना अघि)
  • १०१ पटक पढिएको
गैरआवासीय नागरिकतासम्बन्धी अध्यादेश गलत ढंगबाट आयो : बरिष्ठ उपाध्यक्ष पाण्डे

माघ ६, काठमाण्डौँ । नेकपा (एकीकृत समाजवादी) का बरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले सरकारले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी अध्यादेश गलत ढंगबाट ल्याएको टिप्पणी गरेका छन् ।
शनिबार अस्ट्रेलियाको सिड्नीमा प्रवासी नेपाली एकता मञ्चद्धारा आयोजीत अन्तरक्रिया कार्यक्रममा बोल्दै पाण्डेले सत्तासाझेदार दलबीच पनि समझदारी नगरी ल्याइएको अध्यादेश पारित नहुने जिकिर गर्दै एस्तो टिप्पणी गरेका हुन् ।

आफू पनि सहभागी भएर बनाइएको गैरआवासीय नेपालीसम्बन्धी कानुनमा राजनीतिबाहेक आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्राप्त गर्ने व्यवस्था स्पष्ट उल्लेख भएको बताँउदै पाण्डेले गलत बाटोबाट ल्याइएको अध्यादेश पारित हुनेमा पनि शंका व्यक्त गरे । पाण्डेले सत्तासाझेदार दलबीच पनि समझदारी नगरी ल्याइएको अध्यादेश पारित नहुने जिकिर गरे ।
पाण्डेले अध्यादेश आफू सदस्य रहेको प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा पनि प्रस्तुत हुने भएकाले त्यसको खुलेर विरोध गर्ने बताँउदै उक्त अध्यादेशको खुलेर विरोध गर्न पनि प्रवासी नेपालीहरुलाई आग्रह गरे ।

उनले विदेशमा रहने नेपालीलाई दलमा विभक्त भएर नबस्न आग्रह गरे । “विचार बोक्नुस्, सहयोग र सद्भाव राख्नुहोस्, तर विदेशमा बस्दा कम्तीमा दलीय रूपमा नभई नेपाली भएर बस्नुस् । यो मेरा आफ्नै साथीहरूलाइ पनि बिशेष आग्रह हो । तपाईंहरू सबै एकाकार भएर बस्नुभयो भने बल्ल गैरआवासीय नेपालीहरूको माग पूरा हुनुका साथै महत्त्व पनि बढ्ने गर्दछ,” पाण्डेले भने ।
अर्को प्रसंगमा बोल्दै उनले एकैपटक नेपाल अमेरिका र अस्ट्रेलिया नबन्ने पनि बताए । “विदेशमा बसेर नेपालमा केही भएन भन्ने बहस बन्द गर्नुहोस्, सबै देशका आ–आफ्ना विशेषता छन्,” उनले भने, “एकैपटक नेपाल अमेरिका र अस्ट्रेलिया बन्दैन । तर, पछिल्लो अवस्था हेर्दा नेपालमा पनि धेरै प्रगति र उन्नति भएका छन् ।”

उनले भने, “होला, सोचे अनुरूप जे जति हुनु पर्ने थियो त्यती भएन होला । तर, सडक होस् या शिक्षा वा स्वास्थ्य – सबै क्षेत्र निकै अगाडि बढेको छ । अहिले गाउँगाउँमा सडक बनेका छन् । मेडिकल कलेज मात्र २५ वटा भइसके । विद्युतकै कुरा गर्ने हो भने २५० मेगावाटबाट ३६ सयको हाराहारीमा उत्पादन नै भइसक्यो । बंगलादेश र भारतमा जति पनि बेच्न सकिने भैसकियो, अझै सम्भावना छ । आईटी क्षेत्रले सम्भावनाको ढोका खोलिदिएको छ । यहि हैन र सुरुवात!” पाण्डेले भने ।
उता रेमिट्यान्सले धानिएको मुलुकले प्रवासी नेपालीका बारेमा गम्भीर भएर सोच्ने बेला आएको पनि उनले बताए । मध्यपूर्वजस्ता देशहरूमा सीप सिकाएर मात्र कामदार पठाउन सके त्यसले महत्त्वपूर्ण सन्देश दिने र गम्भीर दुर्घटनाबाट बच्न सकिने आफ्नो धारणा उनले सुनाए ।

एनएसडब्ल्यूका वाणिज्यदूत सञ्जीव शर्माले काउन्सिलरलाई अधिकारसम्पन्न बनाइए अस्ट्रेलियाजस्तो ठूलो देशमा पासपोर्ट र अरू सरकारी कार्य सहज हुने बताए । “परराष्ट्रको नियमावलीले कतिपय सवालमा काम गर्न अप्ठ्यारो बनाएको छ । हामीसँग कामदार र सुविधासम्पन्न कार्यालय छन्, अधिकार दिने हो भने हामी सबै कार्य गर्न सक्षम छौँ,” उनले भने ।
कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली एकता मञ्चका अध्यक्ष ध्रुव सुवेदी, गैरआवासीय नेपाली संघका सचिव ज्ञानेन्द्र रेग्मी, एनआरएन ओसेनिया संयोजक दिनेश पोखरेल, एनआरएनका सल्लाहकार दिनेश जोशी, एनआरएन अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, पूर्वअध्यक्षहरू सुरेन्द्र सिग्देल, नन्द गुरुङ, अभियन्ताहरू तीर्थ कार्की, सुवांश शाह, बाबुराम गौतम लगायतले गैरआवासीय नेपाली नागरिकता सम्बन्धी अध्यादेशको विरोध गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस