माघ १०, बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आज पनि अदालतमा उपस्थित हुँदैछन् ।
सहकारी ठगीमा पक्राउ परेका लामिछाने हिजो हाजिरी जमानीमा रिहा भए पनि आजबाट हुने थुनछेक बहसका लागि उपस्थित हुन लागेका हुन् ।
हिजो रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले उनलाई बिहीबार उपस्थित हुने सर्तमा पत्नी निकिता पौडेल र कानून व्यवसायीको जिम्मामा छाडेका थिए । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा बुधबार रविको बयान सकिसकेको छ, आजबाट कानुन व्यवसायीहरूले थुनछेक बहसमा सहभागी हुनेछन् ।
बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयान दिन उनी आज अदालतमा उपस्थित हुदैँछन । कास्की प्रहरी हिरासतमा रहेका बेला पक्राउ पुर्जी पाए पछि यसअघि उनलाई कात्तिक २७ मा मा बुटवल लगेर बयान गराइएको थियो । सो सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो । गत बैशाख ३ मा पहिलो पटक मुद्दा दायर भए पनि लामिछानेलाई भने पुरक उजुरीमा राखिएको हो ।