माघ ११, बुटवल । पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आज पनि अदालतमा उपस्थित हुँदै छन् ।
बिहीबार रुपन्देही जिल्ला अदालतमा लामिछाने विरुद्धको थुनछेक मुद्दामा सरकारी वकिलको बहस सकिएको हो, पीडित पक्षको दुई वकिलको बहस भने बाँकी रहेकाले शुक्रबार पनि उनी अदालतमा उपस्थित हुन लागेका हुन् ।
सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने बुधवार पहिलो पटक रूपेन्देही अदालतमा उपस्थित भएका थिए, सो हाजिरी जमानीमा रिहा भएका थिए । रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले उनलाई बिहीबार उपस्थित हुने सर्तमा पत्नी निकिता पौडेल र कानून व्यवसायीको जिम्मामा छाडेका थियो, जसका कारण उनी बिहिबार अदालतमा उपस्थित भए पनि थुनछेक बहस भने सकिन पाएन ।
सो सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो । गत वैशाख ३ मा पहिलो पटक मुद्दा दायर भए पनि लामिछानेलाई भने पूरक उजुरीमा राखिएको हो ।