माघ २४, काठमाण्डाैँ । सहारा चितवन सहकारीको बचत रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको थुनछेक बहस सकिएको छ । चितवन जिल्ला अदालतमा न्यायाधीश दयाराम ढकालको इजलासमा थुनछेक बहस सकिएको हो । बिहीबार लामिछाने पक्षबाट वरिष्ठ अधिवक्ताहरु सुशीलकुमार पन्त र जगन्नाथ पौडेललगायतले बहस गरेका हुन् ।
उनीहरूको बहसपछि सरकारी वकिलले जबाफी बसह सकेसँगै थुनछेक बहस सकिएको हो । बहस सकिएपछि उक्त मुद्दामा लामिछानेलाई धरौटीमा छाड्ने कि थुनामा पठाएर मुद्दाको पुर्पक्ष गर्ने भन्ने न्यायाधीशले आदेश गर्नेछन् ।मंगलबार सरकारी वकिलको कार्यालयले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको वचत रकम अपचलनमा सभापति लामिछानेसहित ३२ जनाविरुद्ध अभियोजन दर्ता गरेको थियो । १२ जनालाई संगठित अपराध र ठगीको मुद्दा दर्ता भएको छ भने अन्यलाई ठगीमामात्रै मुद्दा चलाइएको छ । गोरखा मिडिया नेटवर्क प्रालिसँग सम्बन्धित तीन जनालाई दुवै मुद्दा चलाइएको छ ।