|प्रधानमन्त्री ओली – सम्बोधन काठमाडौँ, २६ माघः प्रधानमन्त्री केपी शर्मा ओली शनिबार नेपाल पुलिस क्लब परिसरमा नवनिर्मित नेपाल पुलिस क्लब ‘द ब्लु पेभिलियन’को उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै । सौजन्य तस्बिरः प्रधानमन्त्रीको सचिवालय÷रासस
माघ २६, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि प्रकारको दबाबमा नपरी प्रमाण र तथ्यमा आधारित भएर न्यायसङ्गत अनुसन्धान गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।
भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लब परिसरमा निर्मित ‘द ब्लु पेभिलियन’को आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशमा विधिको शासन तथा शान्ति सुरक्षा कायम गर्ने काममा दृढताका साथ अघि बढ्न निर्देशन दिएका हुन् ।
“तपाईंहरु जनताको अपेक्षाअनुसार चल्नुपर्छ । जनताले प्रहरीबाट निष्पक्ष र असल व्यवहारको अपेक्षा गरेका छन् । त्यसैले तपाईंहरु संविधान र कानुनबमोजिम देश र जनताको हितलाई केन्द्रमा राखेर काम गर्नुस्”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “कुनै तस्कर, भ्रष्ट र ठगहरुमाथि निर्धक्क भएर अनुसन्धान गर्नुस् । मुलुकमा शान्ति सुव्यवस्था कायमका साथै राष्ट्रिय हित र एकतालाई ध्यान दिएर अझ प्रभावकारी रुपमा काम गर्नुस् ।” प्रधानमन्त्री ओलीले नेपाल प्रहरीलाई सबै प्रहरीको घरका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिए ।