बेलुन विस्फोट घटनाको छानबिन गर्न आठ सदस्यीय समिति गठन

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ फागुन ४, आईतबार (२ महिना अघि)
  • ७० पटक पढिएको
बेलुन विस्फोट घटनाको छानबिन गर्न आठ सदस्यीय समिति गठन

फागुन ४,काठमाडौँ । ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा शनिबार भएको बेलुन विस्फोट घटनाको छानबिन गर्न सरकारले आठ सदस्यीय समिति गठन गरेको छ।

गृहमन्त्री रमेश लेखकले आइतबार बिहान मन्त्रीस्तरको निर्णयबाट कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानबिन समिति गठन गरेका हुन्।

समितिमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं, कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया, सशस्त्र प्रहरीका २४ नम्बर गण हेटक्वाटरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सिना, राष्ट्रिय अनुसन्धान जिल्ला काार्यालयका उपअनुसन्धान निर्देशक सुरेश कुमार तिवारी सदस्य र कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री सदस्य सचिव छन्।

साथै समितिमा एक जना विस्फोटक पदार्थ विज्ञसमेत हुनेछन्। समितिले बेलुन विस्फोट घटना के कसरी भयो भन्ने विषयमा आइतबारदेखि नै छानबिन थाल्ने जनाइएको छ।

समितिलाई घटनाको कारणसहित आगामी दिनमा यसप्रकारका कार्यक्रम गर्दा पूर्वसर्तकता र अवलम्बन गर्नुपर्ने उपायसहितको प्रतिवेदन पेस गर्न १५ दिनको समय दिइएको गृह मन्त्रालयले जनाएको छ ।

शनिबार भएको सो घटनामा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको घाइते भएका छन्। हाल उनीहरू काठमाडौँको कीर्तिपुर अस्पतालमा उपचाररत छन्।

ताजा अपडेट

खोजी गर्नुहोस