फागुन ९,काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पार्टीका नेता कार्यकर्ताको आचरण र व्यवहार पार्टीले अँगालेको क्रान्तिकारी सिद्धान्तअनुरूप बनाउन भन्दै आचासंहिता बनाएको छ ।
शुक्रबारदेखि सुरु भएको पार्टी केन्द्रीय समिति बैठकमा अध्यक्ष माधव नेपालले १३ बुँदे आचारसंहिता पेस गरेका हुन् । आचारसंहितामा कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताको व्यवहार सरल हुनु हुनुपर्ने र उनीहरूको जीवनशैली सादा हुनुपर्ने उल्लेख छ ।
यस्तै कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरू एक आपसमा र जनतासँग शिष्ट, मर्यादित, सम्मानजनक र समानताको व्यवहार गर्ने हुनुपर्ने पनि आचारसंहितमा उल्लेख छ । यस्तै बोल्दा अश्लील र अपशब्दको प्रयोग गर्नु नहुने, कुनै वर्ग, जाति, समुदाय, लिङ्ग, क्षेत्र, धर्म र संस्कृतिको मर्यादा तथा गरिमामा आँच पुग्ने गरी अभिव्यक्ति दिन या व्यवहार गर्न नहुने आचारसंहितामा उल्लेख छ ।