फागुन ११,काठमाडौँ । नेपाली सेनाले अन्तर्राष्ट्रिय परिस्थितिको असर नेपालमा पर्न सक्नेबारेमा सूक्ष्म अध्ययन गरिरहेको बताएको छ ।
सेना दिवसको पूर्वसन्ध्यामा जङ्गीअड्डामा आज आयोजित पत्रकार सम्मेलनमा युद्धकार्य विभागका महानिर्देशक प्रेमध्वज अधिकारीले बदलिँदो परिस्थितिबारे अध्ययन भइरहेको जानकारी गराएका हुन् । विशेषतः अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै उनले लिएका नीतिका कारण बहुआयामिक प्रभाव पर्ने भएकाले अध्ययन गरिरहेको सेनाले जनाएको छ ।
सेनाले बितेको ७ महिनामा देशका विभिन्न ठाउँमा गरी ५६ वटा बम डिस्पोज गरेको पनि जानकारी गराएको छ । पत्रकार सम्मेलनमा सेनाले आफूले जिम्मेवारी पाएकामध्ये अहिलेसम्म ३२ वटा सडक आयोजना सम्पन्न गरिसकेको जनाएको छ । १ हजार ४ सय किलोमिटरभन्दा धेरै सडकको ट्र्याक खोली नेपाल सरकारलाई हस्तान्तरण गरिएको सेनाको भनाइ छ ।
पत्रकार सम्मेलनमा काठमाण्डौ–तराई–मधेश द्रुतमार्गका प्रमुख उपरथी कमलविक्रम शाहले गएको असोज १२ र १३ गतेको वर्षाका कारण निर्माण कार्यमा ढिलाइ भएको बताए । उनले खोकनाको जग्गा विवाद समयमै हल हुन नसके निर्माणको समयावधि थपिने निश्चित भएको उल्लेख गरे ।