फागुन २३, काठमाण्डौँ । मैले दुई पटक मन्त्री भएर जनताको सेवा गर्ने मौका पाएकी छु । एक पटक राष्ट्रियसभाको उपाध्यक्ष भएर काम गरेकी छु । अहिले पछिल्लो पटक राष्ट्रियसभामा आएको तीन वर्ष पूरा भयो । राष्ट्रियसभाको उपाध्यक्ष हुँदा मैले जनताको पक्षमा धेरै काम गरेकी छु । राष्ट्रियसभा भनेको अनुभवी सदस्यहरु भएको थलो हो भन्ने मलाई लाग्छ । नेपाली राजनीतिमा खारिएका नेताहरु नै राष्ट्रियसभामा हुनुहुन्छ । राष्ट्रियसभामा सबै जातजाति र समुदायको प्रतिनिधित्व भएका कारणले पनि परिपक्वता छ भन्न सकिन्छ ।
संविधान कार्यान्वयनको अवस्थालाई हेर्दा, संविधान बनाउँदा सबै राजनीतिक दलका नेता मिलेर बनाइएको हो । तर कार्यान्वयनमा दल र दलका नेताको जागरुकता त्यति देखिँदैन । यो संविधान राजनीतिक दलको लामो संघर्षबाट प्राप्त भएको हो । संविधानमा सबै जातजाति, भाषाभाषीको अधिकार सुनिश्चित भएको छ । कार्यान्वयनको सवालमा सांसदहरु सत्तामा नजाउन्जेल कानुन बनाउनुपर्छ भन्ने तर सत्तामा गएपछि बिर्सिने चलन छ ।
यसको मतलब यो नौ वर्षको अवधिमा कार्यान्वयन हुँदै भएन भन्ने होइन । तर जति कार्यान्वयन हुनुपर्ने हो, त्यति भएको छैन । मौलिक हक अन्तर्गतका सबै कानुन बन्न सकेका छैनन् । संसद् भनेको जनताका सवाललाई मुखरित गर्ने थलो पनि हो । संसद्मा जनताका सवालले भने प्राथमिकता पाएको देखिन्छ । सांसदहरुले जनताको सवालमा जति आवाज उठाएका हुन्छन्, त्यति सरकारले कार्यान्वयन गरेको देखिँदैन ।
संविधान संशोधनको विषयमा भन्नुपर्दा, संविधान संशोधन अल्पमत र बहुमत भन्दा पनि जनताको सुझावको आधारमा सबै राजनीतिक दलको सहमतिमा हुनुपर्छ । कुनै एक पार्टीको अनुकूलतामा संविधान संशोधन गरिनु हुँदैन । जनताको भावना बुझेर मात्रै संशोधन गर्नुपर्छ । संविधान संशोधनको नाममा कसैको पनि अधिकार कटौती गरिनु हुँदैन । तत्कालको फाइदाका लागि भन्दा पनि दीर्घकालीन सोच राखेर जनताको पक्षमा संशोधन गर्नुपर्ने हुन्छ ।
अहिले राज्यका निकायमा महिलाको प्रतिनिधित्व हुँदै भएको छैन भन्ने होइन । नेपाली महिलाहरु राष्ट्रपति, सभामुख, उपसभामुख, प्रधानन्यायाधीश, मन्त्री, मुख्यसचिव, राष्ट्रियसभाको उपाध्यक्ष हुनुभएको छ । तर महिलाको निमित्त यो नै पर्याप्त होइन । मुलुकको मुख्य कार्यकारी पदको नेतृत्व महिलाले गर्न पाउनुपर्छ । नेपाली राजनीतिमा अहिले पनि एउटै व्यक्ति चार पटक पाँच पटकसम्म प्रधानमन्त्री हुनु भएको छ । जीवनभरी पार्टीको नेतृत्व तहमा हुनुहुन्छ । त्यो संस्कार र प्रवृत्ति गलत छ । एउटै व्यक्ति दुई पटक भन्दा बढी प्रधानमन्त्री बन्न नपाउने व्यवस्था हुनुपर्छ ।