फागुन २३, काठमाण्डौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आफू फेल नभएको जिकिर गरेका छन् । आज (शुक्रबार) प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै केही विषयमा आफू हौसिएको सुनाए । ‘म जिम्मेवारीमा आइसकेपछि एउटा दुईटा विषयमा हौसिएछु । म फेल भएको होइन, हौसिएको चाहिँ रहेछु’, उनले भने।
मन्त्री दाहालले काठमाडौं चक्रपथ दोस्रो खण्डअन्तर्गतको काम केही समयमै सुरु हुने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक तथा शून्य समयमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै उनले चक्रपथको दोस्रो खण्डतर्फ ‘सर्भिस लेन’ को निर्माण भइरहेको जानकारी दिए ।
‘मुख्य लेनको सम्पूर्ण पूर्व तयारीका कार्य सम्पन्न भइसकेकाले केही समयमै चीन सरकारको सहयोगमा बाँकी निर्माण कार्य सुरु हुनेछ’, मन्त्री दाहालले भने । उनले पुँजीगत खर्च बढाएर लैजान मन्त्रालयले पहलदकमी लिइरहेको उल्लेख गरे । नागढुङ्गा–मुग्लिन, बिपी राजमार्ग, उत्तरदक्षिण करिडोर, पूर्वपश्चिम राजमार्गलगायत राष्ट्रिय राजमार्ग निर्माण तथा स्तरोन्नतिमा अपेक्षित नतिजा हासिल गरिएको दाहालको भनाइ छ ।
उनले भने, ‘गत पुस मसान्तभित्र सिद्धबाबा सुरुङमार्ग ब्रेक थ्रु, माघ १७ गतेसम्म ४१ वटा पुल निर्माण सम्पन्न भएको छ । रेलमार्गको तीन किलोमिटर ‘ट्रयाक’ तथा दुई लेनतर्फ २४६ किमी सडक कालोपत्र र छ लेनतर्फ ३० किलोमिटर सम्पन्न भएको छ ।’ सवारी चालक अनुमतिपत्र वितरणमा राखिएको लक्ष्य प्राविधिकरण पूरा हुन नसकेको जानकारी दिँदै मन्त्री दाहालले ‘स्मार्ट कार्ड’ वितरणलाई तीव्र पारिएको बताए ।