चैत्र २, काठमाडौँ । समाजवादी मोर्चाले यही चैत १५ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने भएको छ । शनिबार मोर्चाले पत्रकार सम्मेलन गर्दै विरोध प्रदर्शनबारे जानकारी गराएको हो । देशले अप्ठ्यारो र सङ्कटपूर्ण अवस्थाको सामना गरिरहेको र त्यसको रक्षार्थ प्रदर्शन गर्नुपरेको मोर्चाले जनाएको छ ।
सरकारको कुशासन र अस्तव्यस्तताका कारण नेपाली जनतामा एकपछि अर्को असन्तुष्टी र आक्रोश तीब्ररुपमा बढ्दै गएको र यसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रको स्वाधीनता र नेपाली जनताको समाजवादको यात्रामा चुनौती देखा परेको मोर्चाको निष्कर्ष छ ।
मोर्चाले प्रदर्शनमा सहभागी हुनका लागि आग्रह पनि गरेको छ । ‘प्रदर्शन कार्यक्रममा सहभागी भै समाजवादी मोर्चा, नेपालमा सम्वद्ध राजनीतिक पार्टीहरू, सम्पूर्ण देशभक्त तथा गणतन्त्रवादी शक्तिहरू एकजुट भै प्रतिगमन र प्रतिक्रियावादीहरुको षडयन्त्रलाई विफल पार्न सम्पूर्ण न्यायप्रेमी जनसमुदायलाई हार्दिक अपील गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ । समाजवादी मोर्चामा नेकपामा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, नेपाल कम्युनिष्ट पार्टी र नेपाल समाजवादी पार्टी रहेका छन् ।