चैत्र १०, काठमाण्डौँ । नेकपा एमालेका केन्द्रीय महासचिव शंकर पोखरेलले सत्यको विश्लेषण नगरी भ्रमका पछि दौडन नहुने बताएका छन्।
आइतबार प्रेस चौतारी नेपालको १० औँ केन्द्रीय महाधिवेशनको विराटनगरमा उद्घाटन गर्दै महासचिव पोखरेलले हिजो देश कहाँ थियो र आज कहाँ छ भन्ने कुरा विश्लेषण नगरी लोकतन्त्र आएपछि देशमा केही भएको छैन भनि गरिएको भ्रमको पछि लाग्नु नहुने बताएका हुन्।
पोखरेलले वर्तमान सरकार सरकार चलाउनको लागि मात्र नबनेको बताए। लोकतान्त्रिक प्रणाली माथि नै चुनौती उत्पन्न भएको कारण देशका दुई प्रमुख राजनीतिक दल मिलेर सरकार बनाएको उनले स्पष्ट पारे। ‘कांग्रेस र एमाले पहिलो पटक मिलेका होइनन्, जब देशलाई संकट पर्छ, तब कांग्रेस र एमाले मिल्ने गर्दछन्’, पोखरेलले भने।
पोखरेलले माओवादीको सशस्त्र द्वन्द्वको निशान राजा नभएर कांग्रेस र एमाले भएका पोखरेलले बताए। माओवादीलाई सशस्त्र द्वन्द्वको बेला कसले पालन पोषण गरेका थिए भन्ने कुरा प्रमाणित हुँदै गएको उनले बताए। राजवादी र भारतीयहरू माओवादीलाई हामीले संरक्षण गरेका थियौँ भन्दै हिँड्न लागेको पोखरेलले स्मरण गरेका छन्।