चैत्र २६, काठमाण्डौँ । गण्डकी प्रदेश सभाको सातौँ अधिवेशन अन्त्य भएको छ । माघ २१ गते सुरु भएको हिउँदे अधिवेशन ६ वटा विधेयक र प्रदेश सभा नियमावली पारित गर्दै मंगलबार रातिबाट अन्त्य गरिएको हो ।
यस अवधिमा प्रदेश सभाका १६ वटा बैठक बसेका छन् । यो अधिवेशनमा सरकारले सदनमा १० वटा विधेयक दर्ता गराएको छ । चौतर्फी आलोचनाका बिच यसै अधिवेशनमा गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानसहित ३ संस्था खारेज गर्ने विधेयक समेत पारित भएको छ ।
सचिवालयका अनुसार यो अधिवेशनले गण्डकी प्रदेशमा साझेदारी फर्मको नियमन र व्यवस्थापन गर्न बनेको विधेयक, गण्डकी प्रदेशमा सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मतसम्भार गर्ने सम्बन्धी, सामयिक कर असुल गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ ।
यसैगरी गण्डकी प्रदेश निजामती सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक, जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेर अधिवेशन अन्त्य गरिएको हो ।