१३ संवैधानिक पद रिक्त

निर्वाचन आयोग नेतृत्वविहीन, भएन नियुक्ति

  • अनलाइन केन्द्र
  • / अन्य /
  • २०८२ बैशाख ६, शनिबार (१३ घण्टा अघि)
  • ४३ पटक पढिएको
निर्वाचन आयोग नेतृत्वविहीन, भएन नियुक्ति

काठमाडौं । निर्वाचन आयोग अहिले नेतृत्वविहीन छ । आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलिया ६ वर्षे कार्यकाल पूरा गरी शुक्रबार बिदा भएसँगै प्रमुख निर्वाचन आयुक्त पद रिक्त भएको छ ।

२०७६ वैशाख ६ गते नियुक्ति पाएका थपलियाले ६ वर्षे कार्यकालमा प्रतिनिधिसभा, प्रदेशसभा, स्थानीय तहका निर्वाचन गराएका थिए । राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रिय सभा सदस्य निर्वाचन र विभिन्न उपनिर्वाचन पनि उनको पालामा भएको थियो ।

निर्वाचनसम्बन्धी विभिन्न ऐनहरूलाई एकीकृत गरी निर्वाचन व्यवस्थापन विधेयक र राजनीतिक दलसम्बन्धी ऐन संशोधनको विधेयक मस्यौदा तयार पारेर थपलियाले गत २९ चैतमा सरकारलाई बुझाएका छन् । मस्यौदालाई ऐनको रूप दिएर कार्यान्वयनमा ल्याए धेरै सकारात्मक परिवर्तन आउने थपलियाको भनाइ छ ।

‘निर्वाचन र राजनीतिमा देखिएका विभिन्न विकृति र विसंगतिलाई हटाउने प्रयास प्रस्तावित विधेयकले गरेको छ,’ उनले भने ।

आयोगले निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदा असार २०८० मै सरकारलाई बुझाएको थियो । तर त्यसलाई सरकारले अझै संसद् लगेको छैन ।

२०७६ मा समावेशी आयोगको सदस्यमा नियुक्ति पाएकी विष्णुमाया ओझाको पनि पदावधि सकिएको छ । योसँगै संवैधानिक आयोगहरूमा रिक्त पदसंख्या १३ पुगेको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल, थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी, मधेशी आयोगका विजयकुमार दत्त र मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी गत महिना कार्यकाल पूरा गरी बिदा भएपछि नयाँ नियुक्ति भएको छैन । त्यसअघि नै राष्ट्रिय समावेशी आयोगको अध्यक्ष र दुई सदस्य पद रिक्त थियो । महिला आयोग, प्राकृतिक स्रोत तथा वित्त आयोग र मुस्लिम आयोगमा एकरएक सदस्य पहिल्यैदेखि खाली छ ।

संविधानले संवैधानिक निकायमा पद रिक्त हुनुभन्दा एक महिनाअगावै त्यस पदका लागि नियुक्तिको सिफारिस गरिसक्नुपर्ने भनेको छ । तर पद रिक्त भएको लामो समय बित्दा पनि नियुक्ति प्रक्रिया थालिएकै छैन ।

 

ताजा अपडेट

खोजी गर्नुहोस