काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारका गलत कामका कारणले प्रतिक्रियावादीहरु सल्बलाएको आरोप लगाएका छन् ।
नेवाः राष्ट्रिय मुक्ति मोर्चाको खबरदारी सभालाई आज काठमाडौँमा सम्बोधन गर्दै उनले धमिलो पानीमा माछा मार्ने दुस्साहसलाई सफल हुन नदिने चेतावनी दिएका हुन् । त्यसक्रममा उनले प्रतिगामी षड्यन्त्रका विरुद्ध एकजुट हुन आह्वानसमेत गरे ।
समाजवादको भ्रुण नेवार समुदायको इतिहासमा, उनीहरुको भाषा, संस्कृति, उत्पादनमा रहेको प्रचण्डको भनाइ छ । उनले नेवार समुदायका संरचनामा नै नेपाली विशेषताको समाजवाद रहेको उल्लेख गरे ।
नेपालको इतिहासमा आदिवासी जनजातिहरुमध्ये नेवार समुदाय नै अग्रणी भूमिकामा रहेको प्रचण्डले जिकिर गरे । नेवार समुदायको इतिहास अध्ययनबाट मात्रै नेपाली विशेषताको समाजवादको यात्रा आरम्भ गर्न सकिने बताए ।