काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका छन् । रिटको पेसी सोमबारलाई तोकिएको अदालत प्रशासनले जनाएको छ ।
बुटवलको सुप्रिम सहकारीबाट गोर्खा मिडियामा गएको रकम खर्च गर्ने भूमिकामा रहेको भन्दै सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका उनी हाल भैरहवा कारागारमा छन् ।
जिल्ला अदालतले उनलाई एक करोड रुपैयाँ धरौटीमा छाडेकोमा उच्च अदालतले गत २२ चैतमा उनलाई थुनामा पठाउने आदेश दिएको थियो। सोही दिन राति प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उच्च अदालतको आदेशविरुद्ध उनले सर्वोच्चमा निवेदन दिइसकेका छन् । त्यसमा आदेश हुन समय लाग्ने भएपछि उनले बन्दी प्रत्यक्षीकरणको रिट पनि दर्ता गराएका हुन् ।