बैशाख १२,काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता समीकरण फेरबदलको कुनै सम्भावना नरहेको बताएका छन् ।
थाइल्यान्ड भ्रमणबाट फर्कने क्रममा आज विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा सभापति देउवाले अहिले सत्ता गठबन्धनमा कुनै समस्या नरहेको दाबी गरे । सत्ता समीकरण फेरबदल हुन सक्ने भनेर चर्चा भइरहेका बेला उहाँले त्यो हल्ला मात्रै भएको प्रतिक्रिया दिएका छन्।
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का नेता पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार आफ्नै कारणले छिट्टै ढल्ने बताउँदै आएका छन् । प्रचण्डले नयाँ गठबन्धनबारे कांग्रेस सभापति देउवा स्वदेश फर्किएपछि कुरा हुने समेत बताएका छन् ।
देउवा स्वास्थ्य उपचारका लागि भन्दै गएको आइतवार थाइल्यान्डको बैंकक गएका थिए ।