काठमाडौं । नेपाली कांग्रेसकी समानुपातिक सांसद माया राईलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । अनुसन्धानका लागि अदालतले ३ दिनको म्याद दिएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए ।
स्वर्णलक्ष्मी सहकारी ठगी तथा संगठित अपराध मुद्दामा मुछिएकी उनलाई गएराति प्रहरीले कपनस्थित निवासबाट पक्राउ गरेको थियो । पक्राउ परेकी राईलाई जिल्ला प्रहरी परिसर काठमाडौँले आज म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।
काठमाडौँ जिल्ला अदालतले पहिलोपटक तीन दिनको म्याद दिएको हो । राई कालीमाटीको स्वर्णलक्ष्मी सहकारीको पूर्व सहसचिव हुन् । उनी सहसचिव हुँदा सहकारीका बचतकर्ताको रकम अपचलन भएको आरोपमा पुरक जाहेरी परेपछि प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्ने भएको हो ।
स्वर्णलक्ष्मी सहकारी ठगीमा यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । तर राईविरुद्ध भने पछि उजरी परेकाले अनुसन्धान गरेर पुरक अभियोजन गर्ने प्रहरीको तयारी छ ।