काठमाडौं । राप्रपा नेपालले रत्नपार्कको शान्तिबाटिकामा सोमबार दिउँसो १ बजे जनप्रदर्शन गर्दैछ । यसअघि भृकुटीमण्डपमा हुने भनिएको कार्यक्रम शान्तिबाटिका सारिएको हो ।
चैत्र १५ गते तीनकुने घटनामा पक्राउ परेकाहरूको तत्काल रिहाइ तथा राजसंस्था पुनस् स्थापनाको मागलाई बन्देज लगाउनेगरी बन्न लागेको कानून तत्काल रोकिनुपर्ने भन्दै राप्रपा नेपालको आयोजनामा सोमबार जनप्रदर्शन गर्न लागेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन् ।
‘पार्टीको झण्डामा नभई कार्यक्रम राष्ट्रिय झण्डामा आयोजना हुनेछ, समान विचार भएका दल, समूह, अभियान , संघसंस्था र व्यक्तिहरूलाई सक्रिय सहभागिताको लागि पत्राचार गरेका छौँ’, उनले भने, ‘सबैको साथ, सहयोगको प्रतिबद्धता पाएका छौँ, हामी उत्साहित छौँ ।
अध्यक्ष कमल थापाले विभिन्न शीर्ष नेताहरूसँग सम्पर्क ,समन्वय गरिरहेको भन्दै उनले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्टसँग कुरा भएको र उनीहरूले आउने आश्वासन दिएको दाबी महामन्त्री बर्तौलाले गरेका छन् ।
प्रदर्शनका क्रममा अनावश्यक घुसपैठ नहोस् भनेर स्वयंसेवकको व्यवस्था गरिएको छ भने कार्यक्रम पश्चात् सरसफाइको निमित्त भ्रातृ संगठन समन्वय विभागले समूह बनाएको पार्टीले जनाएको छ ।