गगन थापालाई अदालतको अवहेलनामा लिखित जवाफ पेश गर्न आदेश

  • अनलाइन केन्द्र
  • / नेपाली कांग्रेस /
  • २०८२ बैशाख १६, मंगलबार (५ घण्टा अघि)
  • ६३ पटक पढिएको
गगन थापालाई अदालतको अवहेलनामा लिखित जवाफ पेश गर्न आदेश

वैशाख, १६ काठमाडौं । अदालतको अवहेलनामा सर्वोच्च अदालतले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई लिखित जवाफ माग गरेको छ । कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले उनलाई लिखित जवाफ पेश गर्न आदेश गरेको हो ।

सर्वोच्चका प्रवक्ता अच्युत कुई‌केलले सात दिनभित्र जवाफ पेस गर्न आदेश भएको बताए । उनले आफैँ वा आफ्ना कानुनी प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न सक्नेछन् ।

सर्वोच्चले आदेशमा अदालतमा विचाराधीन मुद्दामा प्रतिकुल असर पर्ने गरी कुनै अभिव्यक्ति नदिन पनि भनेको छ । वैयक्तिक स्वतन्त्रता निरपेक्ष नहुने भन्दै सर्वोच्चले विचाराधीन मुद्दामा संघीय संसद्को सदनमा समेत छलफल नगरिने संवैधानिक मान्यता भएको भन्दै अन्यत्र दिने अभिव्यक्तिमा अझ संवेदनशील हुनुपर्नेमा ध्यानाकर्षण गराएको हो ।

‘अदालतमा विचाराधीन मुद्दामा निष्पक्ष न्याय सम्पादनको न्यायिक प्रक्रियाको संवेदनशीलता समेतलाई विचार गरी अदालत समक्ष विचाराधीन मुद्दामा प्रतिकूल असर पर्ने गरी कुनै अभिव्यक्ति दिने कार्य नगर्नू नगराउनू’, सर्वोच्चको आदेशमा भनिएको छ ।

कांग्रेस महामन्त्री थापाले ५२ जना संवैधानिक पदाधिकारीहरुको मुद्दामा ‘सर्वोच्च अदालतले डिल गरिरहेको छ’ भनेर बोलेका थिए । उनको उक्त अभिव्यक्ति विरुद्ध अधिवक्ता अनन्तराज लुईंटेल लगायतले अवहेलनाको कारबाही माग राखी सर्वोच्चमा निवेदन दिएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस