जेठ ३,विराटनगर । ३३ किलो सुन तस्करीको प्रकरण र सनम शाक्यको हत्याको मुख्य आरोपी मानिएका चुडामणि उप्रेती उर्फ ‘गोरे’को जिल्ला अदालत मोरङमा आज प्रारम्भिक बयान शुरु भएको छ । सुन तस्करी र शाक्यको हत्याको सम्बन्धमा घटेका सबै घटनाको सम्बन्धमा क्रमिक रुपमा बयान लिने कार्य भइरहेकाले केही दिन अझै बयान लिने कार्य जारी रहने अदालतको स्रोतले जनाएको छ ।
गोरेले मागे सुरक्षा : हिरासतमै आफूमाथि खतरा
अदालतका अधिकारीले गोरेले दिएको बयानको ५ पन्ने विवरण उतारेका छन् । उनले अदालतमा प्रहरी हिरासतमै आफूमाथि खतरा भएको बताएका थिए । र, अदालतले जिल्ला प्रहरी कार्यालय, मोरङलाई गोरेको सुरक्षा प्रबन्ध मिलाउन आदेश दिएको छ । गोरेलाई प्रकरणमा यसअघि पक्राउ परेका २८ जनाको बयान पनि पढेर सुनाइएको छ ।
‘उनले प्रकरणका कतिपय कुरा इन्कार गरेका छन् भने कतिपय स्वीकार पनि गरेका छन्’, स्रोत भन्यो, ‘तर, लिखित नआएसम्म धेरै कुरा भन्न सकिँदैन ।’
उनले बयान दिने इजलासमा सीमित मान्छेहरुलाई मात्रै प्रवेश गर्न दिइएको थियो । गोरेका तर्फबाट एक जना वकिल पनि थिए ।
गोरेलाई मंगलबार काठमाडौँमा प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेपछि जिल्ला अदालत मोरङमा बयानका लागि मंगलबार नै विराटनगर ल्याइएको हो । आजदेखि उनको बयान लिने कार्य शुरु भएको छ ।
सुन तस्करी, सांगठनिक अपराध र हत्याको घटनाको सम्बन्धमा प्रहरीले ६३ जनामाथि मुद्दा दर्ता गरेकामा पक्राउमा परेका ३० जनामध्ये मंगलबारनै अदालतले २८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश जारी गरेको छ ।