दुईवटा वडा विगत नौ दिनदेखि अन्धकारमय

Post Thumbnail

जेठ २९,ताप्लेजुङ । विद्युत्सेवा बन्द भएपछि ताप्लेजुङको फुङलिङ नगरपालिकाका दुईवटा वडा विगत नौ दिनदेखि अन्धकारमय बनेका छन् ।

फुङलिङ नगरपालिका–१० फुरुम्बुमा रहेको याफ्रे लघु जलविद्युत् आयोजनाको टर्वाइनमा आएको खराबीका कारण विद्युत् सेवा बन्द भएपछि वडा नम्बर १० र ११ (साविकको हाङ्देवा र फुरुम्बु गाविस) अन्धकारमय बनेका हुन् । गएको जेठ २० गतेदेखि टर्वाइनमा आएको खराबीका कारण विद्युत्सेवा बन्द भएको आयोजनाले जनाएको छ ।

यता लामो समयसम्म विद्युत् सेवा बन्द हुँदा स्थानीय उपभोक्ता भने अन्धकारमा बस्न बाध्य छन् । विद्युत् नहुँदा मट्टितेलको भरमा रहनु परेको स्थानीय विष्णुप्रसाद पोखरेलले बताए । महिनामा बल्लतल्ल बीस दिन बत्ती बल्ने गरेकोमा अहिले पूरै बन्द हुँदा समस्या भएको पोखरेलको भनाइ छ ।

आयोजनाको व्यवस्थापनमा हेलचेक्राइँ हुने गरेकाले लामो समयसम्म विद्युत् अवरोध हुँदै आएको स्थानीयको आरोप छ । हाल बिग्रिएको टर्वाइन मर्मतका लागि अझै केही दिन लाग्ने आयोजनाले जनाएको छ ।

यस्तै उक्त आयोजनाले ल्याब टेष्ट नगरेका साथै कमसल प्रकारका मिटरबक्स जडान गरेकाले उपभोक्ता समस्यामा परेको जनाइएको छ । सामान्य बत्ती बाल्दा पनि धेरै महशुल देखिने, मिटर बक्सबाट ठूलो आवाज आउनेजस्ता समस्या देखिएको स्थानीय घनेन्द्र गुरुङले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस