सामूहिक बालात्कारपछि युवतीको हत्या गर्ने सार्वजनिक

Post Thumbnail

असार २२,कैलाली । कैलालीको गौरीगंगा नगरपालिका–११ जरही कटान गाउँकी २१ वर्षीया माया विकको सामूहिक बालात्कारपछि हत्या गरिएको घटनामा संलग्न भनिएका पाँचजनालाई आज सार्वजनिक गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा विकलाई बलात्कारपछि हत्याको घटनामा संलग्न सोही ठाउँका गणेश बडुवाल, मनोज बोगटी, सुरज चौधरी, भुवन खाती र तपेन्द्र बोगटीलाई सार्वजनिक गरिएको हो ।

पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक विनोद घिमिरेले युवतीको सामूहिक बलात्कारपछि हत्या भएको अनुसन्धानबाट पत्ता लागेको जानकारी दिए ।

असार १२ गतेदेखि हराइरहेकी विकलाई उनका आफन्त र प्रहरीको प्रयासमा खोजतलास गर्दा चपरथली सामुदायिक वन क्षेत्रमा तीनदिनपछि मृत फेला पारिएको हो ।

“तीनजनाले पालैपालो करणी गरिसकेपछि चौथोले करणी गर्दैगर्दा उनले प्राण त्याग गरेको अनुसन्धानबाट खुलेको देखिन्छ,” प्रहरी उपरीक्षक घिमिरेले भने – “घटनाअघि असार ८ गते मुख्य योजनाकार गणेश बडुवालले युवतीसँग यौन सम्बन्ध राख्ने प्रस्ताव गरेकामा युवतीले अस्वीकार गरेकी थिइन् ।”

दुई हात बाँधिएको, मुखमा कपडाले बाँधिएको र निवस्त्र अवस्थामा युवतीको शव फेला परेको हो । घटनाको अनुसन्धानका क्रममा प्रहरीले मृतकको साइकल र एक थान मोबाइल बरामद गरेको छ ।

यस्तै, पत्रकार सम्मेलनमा पूर्व प्रेमीसँग मिलेर श्रीमान्को हत्यामा संलग्न कञ्चनपुर पुनर्वास नगरपालिका–२ की २२ वर्षीया लक्ष्मी बडेला र उनका प्रेमी कैलाली गोदावरी नगरपालिका–१० का दीपक खत्रीलाई पनि सार्वजनिक गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस