असार २४,काठमाडौँ । एउटा वडा सचिवले कति वटासम्म वडाको जिम्मेवारी सम्हाल्नसक्ला एक, दुई, तीन अथवा चार वटा वडासम्म तर, जाजरकोटको कुशे गाउँपालिकाका एक जना वडा सचिवले नौ वटा वडाको जिम्मेवारी एक वर्षदेखि सम्हाल्दै आएका छन ।
स्थानीय तहको चुनाव भएको एक वर्ष बितिसकेको छ । तत्कालीन गाविस सचिव सत्यदेव खनालले एक वर्षदेखि पूरै गाउँपालिकाका नौवटै वडाको कामकाज गर्दै आएका छन । लामो समयसम्म कर्मचारी व्यवस्थापन नहुँदा यस्तो समस्या आएको हो । तर नौ वटा वडाको जिम्मेवारी एक्लैले कसरी सम्भव छ र उनले सदरमुकामस्थित गाउँपालिकाको सम्पर्क कार्यालयमा बसेर नौवटै वडाको जिम्मेवारी सम्हालेका छन ।
स्थानीय सरकार सञ्चालन कार्यविधि २०७४ मा वडा सचिवलाई पञ्जिकाधिकारी तोकेको छ । वडा सचिवको हस्ताक्षरविना जन्मदर्ता, मृत्युदर्ता र बसाइँसराइको काजगात बन्न सक्दैन । तर वडा सचिव खनाल सदरमुकाममै भए पनि गाउँपालिकाको पञ्चिकरणको काम भने रोकिएको छैन ।
वडा सचिव खनालले नागरिकतालगायतका सिफारिशमा सदरमुकामबाट अग्रिम (ब्ल्यांक) हस्ताक्षर गरेर गाउँ पठाइदिन्छन् । त्यसमा वडाध्यक्षले प्रमाणित गरेर पठाउने गरिएको छ । जन्मदर्ता, विवाह दर्ता, मृत्यु, बसाइँसराइ, नाता प्रमाणित, लक्षित वर्गको सिफारिश पनि त्यसरी नै खाली लेटरप्याडमा हस्ताक्षर गरेर पठाउने र त्यहाँ रहेका तत्कालीन प्रशासन सहायक, सामाजिक परिचालक र लेखा सहायकले विवरण भरेर दिने गरिएको गाउँपालिका प्रमुख हरिचन्द्र बस्नेतले बताए ।