असार २८,काठमाडौँ । गएराती देखि देशभर परेको वर्षाले जनजीवन अस्तव्यस्त बनेको छ । अविरल वर्षापछि आएको बाढीले वस्ती डुबानमा परेका छन् भने पहिरोले राजमार्ग ठप्प भएका छन् । यद्यपि, अहिलेसम्म मानवीय क्षतिको विवरण भने प्राप्त भएको छैन ।
अविरल वर्षापछि आएको बाढीले भक्तपुर डुबानमा परेको छ । भक्तपुरको हनुमन्ते खोलाको बाढी बस्तीमा पस्दा भक्तपुरका बस्ती जलमग्न भएका छन् । रातिदेखि नै उद्धारका लागि सुरक्षाकर्मीको टोली परिचालित छन् । यातायात, बजार, शिक्षण संस्था सबै बन्द भएका छन् ।
काभ्रेको बनेपा र पनौती पनि डुवानमा परेको छ । पुण्यमती खोला र खहरेमा आएको बाढीले बनेपाको थापा गाउँदेखि धनेश्वरसम्मका भाग डुबानमा परेका छन । तीन दर्जन बढी पसल, घरको पहिलो तलामा पानीको भेल पस्दा रातभर स्थानीय सुत्न समेत पाएनन् ।
यसैबीच, पहिरो खस्दा अरनिको राजमार्ग बिहीबार बिहानैदेखि ठप्प छ । काभ्रे भञ्ज्याङमा खसेको पहिरोले आवागमन प्रभावित भएको हो ।
उता, बीपी राजमार्ग पनि वर्षाले प्रभावित भएको छ । राजमार्गका विभिन्न स्थानमा खसेको पहिरोले बिहानैदेखि सवारी रोकिएका छन् ।
त्यसैगरी मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने हेटौँडा– कुलेखानी सडकखण्डमा पर्ने इन्द्रसरोवर गाउँपालिका–४ बुरुण्डीस्थित फाखेलको सडक र इन्द्रसरोवर गाउँपालिका–७ स्थित सिस्नेरीको सूर्यडाँडामा आज बिहान परेको वर्षात्ले हेटौँडा काठमाडौँतर्फको यातायात दुवैतर्फ आज बिहानदेखि अवरुद्ध भएको छ ।
अविरल वर्षासँंगै सडक माथिबाट खसेको पहिराका कारण गए रातिदेखि पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ ।
सडकखण्डअन्तर्गत पर्वतको मोदी गाउँपालिका–५ बाजुङमा पर्ने भ्याप्ले खोला नजीकै माथिबाट लेदो झरेका कारण सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख महेन्द्र रानाभाटले जानकारी दिए ।
गए राति झण्डै १० बजेदेखि नै पहिरो खस्न शुरु गरेका कारण पोखराबाट पर्वत हुँदै मुस्ताङ, म्याग्दी र बागलुङ जाने तथा पर्वत हुँदै पोखरा तथा अन्य लामो तथा छोटो दूरीमा जाने सयौँ सवारी साधान रातिदेखि नै बीचैमा अलपत्र परेका छन् ।