डा. केसीको जीवन रक्षाको माग : माइतीघर मण्डलमा प्रदर्शन जारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ अषाढ ३०, शनिबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

असार ३०,काठमाडौँ । जुम्लामा अनशनरत प्रा. डा गोविन्द केसीको जीवनरक्षाको माग गर्दै आज माइतीघर मण्डलमा प्रदर्शन गरियो ।

राजनीतिक दलका नेता, विभिन्न पेशाकर्मी, चिकित्सक, विद्यार्थी र सर्वसाधारणले चिकित्सा शिक्षासम्बन्धी माथेमा आयोगको प्रतिवेदनअनुसारको चिकित्सा शिक्षा विधेयक ल्याई डा केसीको जीवनरक्षा गर्न माग गरेका हुन् ।

कार्यक्रममा चिकित्सा शिक्षासम्बन्धी नीति तर्जुमा उच्चस्तरीय कार्यदलका संयोजक प्रा. केदारभक्त माथेमाले कार्यदलले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न नसक्नुका कारणबारे स्पष्ट पार्न सरकारलाई आग्रह गरे ।

उनले भने, “हामीले बुझाएको प्रतिवेदन प्रष्ट र सरल छ, हामीले त्यसमा चिकित्सा शिक्षाको गुणस्तर माथि हुनुपर्छ र काठमाडौँमा धेरै नै मेडिकल कलेज भयो भनेर भनेका हौँ, त्यो भन्नुको कारण दिएका छौँ ।”

उनले काठमाडौँमा धेरै भएकाले राजधानी बाहिर मेडिकल कलेज स्थापना गरी बाहिरका जनताको पहुँचमा शिक्षा र सेवा पु¥याउन सकिने आधारमा त्यस्तो सिफारिस गरिएको बताए ।

नेपाली काँग्रेसका नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले माथेमा कार्यदलले बुझाएको प्रतिवेदन अनुसारको विधेयक आउनुपर्नेमा जोड दिए ।

“डा केसी सत्यका लागि लड्ने जोगी हुन्, उनले पनि विज्ञकै कुरा लागू गर भनेका हुन्,” उनले भने । विज्ञहरुले अध्ययन गरेर दिएको सुझावलाई बेवास्ता गरी सिमित व्यक्तिको स्वार्थ पूरा गर्न सरकार लागिपरेको उनले बताए ।

वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीले सरकारसँग वार्ता गर्न डा केसीका पक्षबाट वार्ता समिति तयार रहेको भन्दै डा. केसीलाई बलपूर्वक काठमाडौँ ल्याउन नसक्ने बताए ।

उनले सरकारमा बसेको व्यक्तिले आफ्नो हितमा कानुन बनाउन खोजे अपराध हुने भएकाले जनताको हितमा काम गर्न सरकारलाई आग्रह गरे । माथेमा प्रतिवेदनअनुसारको चिकित्सा शिक्षा विधेयकको माग गर्दै डा केसी जुम्लामा १५ दिनदेखि १५ औँ आमरण अनशनमा बसेका छन ।

ताजा अपडेट

खोजी गर्नुहोस