साउन १४,काठमाडौँ । हामीले खाने खाद्यपदार्थ, पानी, दूधलगायतको गुणस्तर कस्तो छ भन्ने कुनै जानकारीबिना नै प्रयोग गरिरहेका छौँ । विक्रेताले भनेको वा ती सामानको बारेमा गरिएको विज्ञापनको आधारमा हामीले ती खाद्यवस्तु किनेर प्रयोग गर्छौँ ।
अब हामीले उपभोग गर्ने ती खाद्य पदार्थको गुणस्तर कस्तो छ भनेर केही सेकेण्डमै पत्ता लगाउने प्रविधिको विकास भएको छ । बेलायतस्थित हाइजिना अन्तर्राष्ट्रिय कम्पनीले बनाएको ‘हाइजिना’ नाम दिइएको उक्त प्रविधिमार्फत जनसुकै सतह र पानीमा भएको किटाणु पत्ता लगाउन सकिने आईतबार आयोजित कार्यक्रममा जानकारी गराइयो ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्यालले नेपालमा खाद्य पदार्थको गुणस्तर मापन गर्ने अत्याधुनिक प्रविधि नहुँदा जनताले गुणस्तर नभएका खाद्य पदार्थ प्रयोग गर्नुपरेको बताए । उनले भने, “पछिल्लो समय जति अस्पताल निर्माण भएका छन्, बिरामीको भीड पनि उस्तै छ । यसको कारण हामीले कस्तो खानपान गरिरहेका छौँ भन्ने पनि पुष्टी गर्छ ।”
उक्त कम्पनीका युरोप, मध्यपूर्व र एसिया क्षेत्रका क्षेत्रीय व्यवस्थापक ह्युगो गोन्जालेजले यो प्रविधिले खानेपानी, दूधलगायतका पेय पदार्थको शुद्धीकरणबारे थाहा पाउन सकिने भएकाले होटल, रेष्टुरेण्ट, अस्पताल, औषधि पसलजस्ता संवेदनशील क्षेत्रमा प्रयोग गर्न सकिने बताए ।
यस प्रविधि नेपाल भित्र्याएको खिलुङ कालिका गु्रप प्रमुख खुमाप्रसाद अर्याल यो मेशिनले गुणस्तरका लागि हुनुपर्ने शुद्धता छ कि छैन भनेर पत्ता लगाई त्यसलाई सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
सो कार्यक्रममा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, खाद्य संस्थान, दुग्ध विकास संस्थानलगायतका प्रतिनिधिले आधुनिक गुणस्तर मापन उपकरणको आवश्यकतामा जोड दिए ।