साउन १५,काठमाडौँ । विषालु सर्प कोब्रा पहाडी र हिमाली भेगमा पनि पाइन थालेको छ । यसअघि तराईमा मात्रै पाइने गरेको कोब्रा अहिले पहाडी क्षेत्रमा पाइन थालेको अध्ययनले देखाएको हो ।
मनाङ, ताप्लेजुङ, सल्यान, सोलुखुम्बु, डोटी, दैलेखलगायतका पहाडी र हिमाली जिल्लामा पनि विषालु सर्पको डसाईबाट ज्यान जान थालेको डाक्टर बाबुराम मरासिनीले जानकारी दिए ।
यस्तै सामान्यतया गर्मी महिनामा मात्र सक्रिय हुने विसालु सर्प जाडो याममा पनि सक्रिय हुन थालेको उनले जानकारी दिए । डोटीको दिपायलमा कोब्रा र किङ कोब्रा जाडो महिनामा पनि सक्रिय हुन थालेको पाइएको छ भने दैलेखको दुल्लुमा किङ कोब्राको वासस्थान पाइएको छ ।
तराईबाट लगिने खानेपानीको पाइप, काठको मुडा लगायतमा अल्झिएर पनि विषालु सर्प पहाडी र हिमाली भेगमा पुग्ने गरेको पाइएको उनले बताए । जलवायु परिवर्तनका कारण पनि सर्प हिमाली र पहाडी भेगमा पाइन थालेको अनुमान गरिएको छ ।
सर्पले डसेपछि तत्काल नजिकैको अस्पतालमा जान डाक्टर मरासिनीले सुझाव दिए । सर्पले डसेपछि निलो हुनेगरि बाँध्दा रगत संचालन नहुँदा अंग नै काट्नुपर्ने अवस्था आउने गरेकाले विष शरीरमा चाँडै नफैलिने तरिकाले भने बाँध्न सकिने डाक्टर मरासिनीले सुझाव दिए ।