नारायणगढ­–मुग्लिन सडकखण्ड चार घण्टापछि एकतर्फी खुल्यो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ श्रावण १९, शनिबार (६ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

साउन १९चितवन । चितवनको भरतपुर महानगरपालिका–२९, घुमाउनेमा पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ­–मुग्लिन सडकखण्ड चार घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आज बिहान ६ बजे खसेको पहिरोका कारण अवरुद्ध हुन पुगेको सडक १०ः३० बजेबाट एकतर्फी सञ्चालनमा आएको हो ।

अहिले रोकिएका गाडीलाई गन्तव्यतर्फ पठाउन थालिएको चितवनका ट्राफिक प्रहरी प्रमुख बेदप्रसाद गौतमले बताए । उनका अनुसार पहिरो खसेको स्थानमा अहिले पनि ढुंगा खस्ने क्रम भने जारी नै छ । लोडरको सहायताले पहिरो पन्छाएर गाडी दुईतर्फी बनाउने प्रयास जारी रहेको गौतमले जानकारी दिए ।

राति परेको वर्षाका कारण यहाँ पहिरो खसेको हो । पहिरो खसेपछि प्रहरीले काठमाडौंबाट आउने गाडीलाई मुग्लिनमा र चितवनबाट जाने गाडीलाई सिमलतालमा रोकेको थियो । त्यो क्षेत्रमा गाडीको लामो लाइन छ । एकतर्फी सडक खुलेपछि बीचमा अड्किएका गाडीलाई भने गन्तव्यमा पठाउन थालिएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत विभिन्न स्थानमा पहिरो जाने क्रम जारी छ भने पछिल्लो एक हप्तादेखि ढुंगा खस्ने क्रमसमेत बढेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस