सेनाको स्कटिङमा ‘सोल्टी’ र ‘मितिनी’लाई चितवनबाट काठमाडौं ल्याइयो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ श्रावण ३०, बुधबार (६ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

साउन ३०,काठमाडौँ । सरकारले मित्र राष्ट्र चीनलाई उपहार दिन लागेको अर्को एक जोडी गैँडा ‘सोल्टी र मितिनी’लाई मंगलबार काठमाडौं ल्याइएको छ।

रत्ननगरस्थित सौराहामा रहेको सानो खोर (पिट बोमा)बाट काठको खोरमा हाली ट्रकमा राखेर सडकमार्ग हुँदै गौँंडालाई काठमाडौं पठाइएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले जानकारी दिए ।

गैँडालाई साउन ३१ गते साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विशेष कार्गो विमानमा राखी चीन पठाइने जनाएको छ ।

अगाडी पछाडि सेनाको गाडीले स्कटिङ गरी यहाँबाट उक्त गैँडा काठमाण्डौँ लगिएको छ । चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक तथा संरक्षणकर्मी सहभागी रहेको गैँडा लाने टोलीको नेतृत्व ढकालले नै गरेका छन ।

अहिले राखिएको गैँडामध्ये पोथी (मितिनी)लाई चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरबाट गएको वैशाखमा नियन्त्रणमा लिएर सौराहामा राखिएको थियो भने सोल्टी चाँहि अघिल्लो वर्ष बाढीले बगाएपछि भारतीय सिमा नवलपरासीको त्रिवेणीबाट उद्धार गरेर ल्याइएको गैँडा हो । यी दुबै गैँडालाई साङघाई सफारी पार्कमा लगेर राखिने छ ।

गएको चैत २८ गते चीनलाई उपहार पठाइएको ‘रुपसी र भद्र’ नामको एक जोडी गैँडा हाल चिमे लङ सफारी पार्कमा रमाइरहेको जनाएको छ ।

सरकारले यसअघि विभिन्न १० देशलाई २६ गैँडा उपहार दिइसकेको छ । विश्वमै दुर्लभ मानिएको एकसिङ्गे गैँडाको संख्याका हिसाबले चितवन राष्ट्रिय निकुञ्ज विश्वकै दोस्रो संरक्षित क्षेत्र हो ।

एकसिङ्गे गैँडाको बाह्य बासस्थान संरक्षणको सिद्धान्तअनुसार सरकारले विभिन्न मित्रराष्ट्रलाई समयसमयमा गैँडा उपहार दिँदै आएको छ । यसअघि मित्रराष्ट्र भारतलाई सन् १९८४ मा चार तथा १९८७ र १९९० मा दुई चोटी गरेर अमेरिकालाई छ वटा गैँडा उपहार दिइसकेको छ । यसैगरी नेपालले सन् १९९० देखि २००६ सम्म जर्मनी, बंगलादेश, वेलायत, जापान, अष्ट्रियामा दुई, दुई वटाका दरले कुल १० गैँडा उपहारस्वरुप पठाइसकेको छ ।

थाइल्याण्ड, वर्मा र पाकिस्तानलाई पनि दुई, दुई वटाका दरले गैँडा पठाइएको चितवन राष्ट्रिय निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६०५ गैँडा छन् । नेपालमा भने हाल गैँडाको संख्या ६४५ छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस