भाद्र ७, रामेछाप । जिल्ला समन्वय समिति रामेछापका कार्यक्रम अधिकृत नारायण सुवेदीमाथि छुरा प्रहार भएको छ । गएराति आफ्नै निवासमा सुतिरहेको बेला उनी माथि छुरा प्रहार भएको हो ।
मन्थली नगरपालिका १ मच्छेडाँडीमा रहेको सुवेदीको निवासमा राति ९ बजेतिर मुखमा मास्क लगाएर पसेको अज्ञात व्यक्तिले छुरा प्रहार गरेको थियो । परिवारका सदस्यहरु घरका अन्य कोठामा रहेको बेलामा सो घटना भएको हो ।
उनलाई तत्कालै उद्धार गरी तामाकोशी सहकारी अस्पतालमा ल्याइएकोमा त्यहाँ प्राथमिक उपचारपछि धुलिखेल अस्पताल पठाइएको थियो । धुलिखेल अस्पतालमा राति नै उनको शल्यक्रिया भएको छ । अस्पतालले सुवेदीको आन्द्रा काटिएको जनाएको छ ।
छुरा घटनास्थलमा नै फेला परेको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।