भाद्र १४, काठमाडौं । बिमस्टेक सम्मेलनका कारण बिहीबार पनि बिहानैदेखि काठमाडौंको यातायात प्रभावित भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालगयातका विशिष्ट पाहुनाको सवारी हुने भएकाले एयरपोर्टदेखि तीनकुने, बानेश्वर, माइतीघर, थापाथली, त्रिपुरेश्वर, कालिमाटी, सोल्टीमोडसम्मको रुटमा अरु गाडी चलाउन रोक लगाइएको छ ।
विशिष्ट पाहुनाको ओहोरदोहोर हुने बेला सडकमा पैदलयात्रीलाई समेत हिँड्न दिइएको छैन ।
महाशाखाका अनुसार विदेशी पाहुना सवारी हुने सिनामंगल, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, थापाथली, त्रिपुरेश्वर, कालिमाटीदेखि सोल्टी होटलसम्मको दुईतर्फी सडक अवरुद्ध हुनेछ । मोदी एयरपोर्टबाट सोझै पशुपतिनाथ दर्शन गर्न जाने कार्यक्रम भएकाले केहीबेर गौशाला, चाबहिललगायत क्षेत्रको आवागमन पनि रोकिने छ ।
कालीमाटीबाट त्रिपुरेश्वर आउने, माइतीघरबाट बानेश्वर–कोटेश्वर हुदै एयरपोर्ट जाने चार पाङ्गे तथा ठुला सवारी साधनलाई कलंकी, भद्रकाली, कोटेश्वर, कुपण्डोलबाटै ड्राइभर्सन गरिएको छ ।
यस्तै सिनामंगल, मुनीभैरव, कोटेश्वर, तिनकुने, बानेश्वर पानीट्याङकी, हनुमानस्थान, कुपण्डोल, सिंहदरबार, भद्रकाली, नागस्थान, बाफल, ताहाचल मोड, गौरीघाट, चुच्चेपाटी र रातोपुल बाट सबै प्रकारका सवारी साधनलाई पनि डाइभर्सन गरिने ट्राफिक प्रहरीले जनाएको छ । डाइभर्सन गरिएका सवारी साधनले बैकल्पिक मार्ग प्रयोग गर्न पनि ट्राफिक प्रहरीले आग्रह गरेको छ ।
चक्रपथमा र चक्रपथ भित्र प्रवेश गर्ने मालबाहक सवारी साधनलाइ आज विभिन्न स्थानबाट प्रवेशमा रोक लगाइएको छ । नागढुङ्गा, थानकोट, भक्तपुर, नारायणटार, जोरपाटी लगायतका स्थानबाट सवारी साधनलाई प्रवेशमा रोक लगाइएको हो । यस्तै निजी तथा सार्वजनिक सवारी साधनलाई आज चक्रपथ प्रयोग गरि यात्रा तय गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।