भाद्र १९, काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित आकाशेपुल नजिकै मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका उनको उपचारको क्रममा सिभिल अस्पताल मिनभवनमा गएराति मृत्यु भएको हो ।
मृतक पुरुष रहेको र उनको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । पैदल हिँडिरहेका उनलाई बा९२प ५०६६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । सवारी साधन सहित चालकलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरले नियन्त्रणमा लिएको छ ।
यस्तै, स्कुटी नहरमा खस्दा चितवनमा एक जनाको मृत्यु भएको छ भने एक व्यक्ति वेपत्ता भएका छन् ।
भरतपुर महानगरपालिका–७ तेह्रसाल चोकमा गएराति स्कुटर नहरमा खस्दा सोही महानगरपालिका–४ का ४७ वर्षीय भविश्वर भण्डारीको मृत्यु भएको हो । स्कुटरमा सवार अर्का एक व्यक्ति नहरमा बगेर वेपत्ता भएका छन् । उनको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
भरतपुरको पेन्सन क्याम्पबाट तेह्रसाल चोकतर्फ आउँदै गरेको ना३४प ९९४१ नं को स्कुटर पुल तर्ने क्रममा नहरमा खसेको थियो ।
भण्डारीको शव नहरबाट ५० मिटर टाढा फेला परेको थियो भने वेपत्ता भएका व्यक्तिको खोजी भइरहेको छ ।