दुर्घटनाग्रस्त अवस्थामा भेटियो हेलिकप्टर, उद्धार गर्न सकिएन !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ भाद्र २३, शनिबार (६ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

भाद्र २३, काठमाडौं । गोरखाको सामागाउँबाट काठमाडौँका लागि उडेको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । अल्टिच्युड एयरको इक्वेरल थ्री हेलिकप्टर बिहान ६ बजेर ५७ मिनेटदेखि सम्पर्क बिहीन भएको थियो ।

हेलिकप्टर धादिङ्ग र नुवाकोटको सीमावर्ती क्षेत्रमा खसेको जनाइएको छ ।

हेलिकप्टरका पाइलटको नाम निश्चल केसी रहेको खुलेको छ । पाइलटसहित सातजना रहेको प्रारम्भिक जानकारी आएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जनाकारी दिए ।

इलाका प्रहरी कार्यालय सामागाउँ प्रहरी चौकीका अनुसार हेलिकप्टरमा सवार रहेकामा जापानी नागरिक हिरोमी कोमात्सु, रामेछापका डिल्ली बहादुर गुरुङ, दोलखाका हिरा शेर्पा, गोरखाका ल्हो आनी डोल्पा डिक्की, छोवाङ नुर्बु र सुनिल तामाङ छन् ।

महाप्रबन्धक क्षेत्रीका अनुसार हेलिकप्टर धादिङ्गको सत्यदेवी मन्दिर नजिकको क्षेत्रमा दुर्घटनाग्रस्त भएको अनुमान गरिएको छ ।

धादिङ प्रहरी प्रमुख डम्बर बिसीले पनि नुवाकोट र धादिङको सीमामा हेलिकप्टर फेला परेको भन्ने प्रारम्भिक सूचना आफूहरुलाई प्राप्त भएको जानकारी दिए ।

पाइलट र यात्रुको अवस्थाबारे अहिले केही थाहा भएको छैन । हेलिकप्टर बिहान सवा ८ बजेपछि काठमाडौँ अवतरण हुनु पर्ने थियो । हेलिकप्टर उडेको केही मिनेटमै सम्पर्क बिहीन भएको हो । अहिले उद्धार कार्यका लागि टोली खटिएको छ । प्रहरी परिचालन गरिएको तथा नेपाली सेनाको उद्धार टोलीसहितको हेलिकप्टर पनि गएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस