भाद्र २८,विरगञ्ज । तत्कालीन नेकपा एमालेका नेता महमुद आलमको हत्या अभियोगमा जेल सजाय भोगिरहेका एमालेकै पूर्वसभासद रामचन्द्र प्यासी कुशवाहालाई उच्च अदालत वीरगन्जले जन्मकैदको फैसला सुनाएको छ।
तत्कालीन एमालेका केन्द्रीय सदस्यसमेत रहेका आलमको हत्यामा उनको संलग्नता रहेको भन्दै जिल्ला अदालत बाराले उनलाई १० बर्षको जेल सजाय सुनाएको थियो।
अदालतको फैसला बमोजिम २०७३ वैशाख १५ गतेदेखि जेल सजाय काटिरहेका प्यासीलाई उच्च अदालत वीरगन्जले मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३ (४) बमोजिम फैसला सुनाएको हो।
उक्त महलको १३ (४) मा जन्मकैदको व्यवस्था रहेको छ। आलमकी पत्नी नेजमाले दिएको पुनरावेदनमा एक नम्बर इजलासका मुख्य न्यायधीश डिल्लीराज आचार्यको इजलासले ज्यान मार्ने मुख्य योजनाकार ठहर गर्दै प्यासीलाई उक्त फैसला सुनाएको इजलास अधिकृत श्रीदीप वाग्लेले जानकारी दिएका छन्।
यसअघि जिल्ला अदालत बाराले मुलुकी ऐन ज्यान सम्बन्धी महलको १६ बमोजिम फैसला सुनाएको थियो। जिल्ला अदालतको फैसलाप्रति असन्तुष्टी जनाउदै आलम पत्नी नेजमाले २०७३ कार्तिक ५ गते पुनरावेदन गरेकी थिइन्। पुनरावेदनको करिब दुई वर्षपछि उच्च अदालतले अर्को फैसला गरेको हो।
आलम हत्यामै जिल्ला अदालत बाराबाट जन्मकैदको फैसला पाएका मनोज भनिने रवी पाण्डेलाई अदालतले मुलुकी ऐन ज्यान सम्बन्धी महलको १६ बमोजिम कसुर ठहर गरेको छ। इजलास अधिकृत वाग्लेका अनुसार पाण्डेको हकमा तत्काल कसुर ठहर भएको र अर्को इजलासबाट सजाय फैसला हुनेछ।
घटनामा सूचना आदनप्रदान गर्न संलग्न अतिक खान, राजु श्रीवास्तव र महमद फहद भनिने बिपिन यादवलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १६ बमोजिम १० बर्षको फैसला सुनाइएको छ। जिल्ला अदालतले पनि उनीहरुलाई १० बर्षकै सजाय सुनाएको थियो।