असोज ४,काठमाडौँ । मुलुकी संहिताको विरोधमा आन्दोलनरत सवारी चालकहरुले बन्दको अवज्ञा गरेको भन्दै आफ्नै सहकर्मीहरुलाई जुत्ताको माला लगाएका छन् ।
बन्दका कारण विभिन्न जिल्लामा सार्वजनिक यातायातका साधनहरु निकै कम चलेका छन् । सडकका गुडेका सवारीहरुलाई रोक्ने र विभिन्न ठाउँमा जुत्ताको माला लगाएर मानमर्दन गर्ने काम भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले जनाएको छ ।
उसका अनुसार आन्दोलनकारीले धादिङको सिम्ले, झापाको विर्तामोड, कपिलवस्तुको चन्द्रौटा, महोत्तरीको वर्दिवास, बारा, पर्सा लगायतका जिल्लाहरुमा यात्रुसहितका सवारी साधनलाई रोकी चालकलाई जुत्ताको माला लगाएका छन् । पूर्वघोषित कार्यक्रम सवारीको चाबी बुझाउने भएपनि चालकलाई कालोमोसो, जुत्ताको माला लगाउने जस्ता गतिविधिमा उत्रिएका छन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भिमज्वाला राईले आन्दोलनमा आफुहरुको कुनै संलग्नता नभएको जिकिर गरे । अनलाईन केन्द्रसंग कुरा गर्दै उनले चालकहरुलाई कसैको बहकावमा लागेको भन्दै ईमान्दार चालकले विना गल्ती सजाय भोग्न नपर्ने बताए । । मुलुकी अपराध संहिता र यातायात व्यवस्था ऐन २०४९ मा भएको संशोधनमा दुर्घटनामा कसैको मृत्यु भए चालकलाई १० वर्ष कैदको व्यवस्था भएको भनी झुटो प्रयास भएको उनले बताए । यातायात मजदुरहरुको आवरणमा गलत तत्वले उदण्डता मच्चाउने काम भएको संगठनले बताएको छ ।