नागढुङ्गाको जाम कम गर्न धार्के–सितापाईला सडक खुलाईने !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ आश्विन १२, शुक्रबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

राज ढुंगाना

असोज १२,धादिङ । नौविसे नागढुंगा सडकको जामलाई कम गर्न बैकल्पिक सडकको रुपमा रहेको धार्के सितापाईलामा हल्का सवारीसाधन चलाउने निर्णय भएको छ । त्रिभुवन राजपथ अन्तर्गत नागढुङ्गामा बढ्दो जामलाई कम गर्न धार्के सितापाईला सडकमा हलुका सवारी आवागमन गर्न दिईने भएको हो । नेपालीहरुको महान पर्व दशैँ अगाडि नै वैकल्पिक सडकको रुपमा रहेको धार्के सितापाईला सडकमा साना सवारी सन्चालन गर्न र नौबिसे–नागढुंगा सडकमा सवारी सन्चालनको अहिलेको अवस्थालाई व्यवस्थित गर्ने गरी सडकको निरिक्षण तथा छलफल गरेको हो ।

छलफलमा पुर्व मन्त्री तथा प्रदेश सभासद राजेन्द्र पाण्डेले धार्के–सितापाईला सडक खण्डको निरिक्षण गर्दै नौबिसे–नागढुँगा सडकमा रहेको खाल्डाखुल्डिलाई पुर्न सडक कार्यालयले प्रहरी सँग समन्वय गरेर तत्काल काम गर्नु पर्ने बताए । उनले वैकल्पिक सडकको रुपमा रहेको धार्के–सितापाईला सडकमा साना सवारी सन्चालन गर्नका लागि प्रयास गर्न अनुरोध पनि गरेका छन् ।

यस्तै पाण्डेले जामको समस्या धादिङको नागरिकका लागि मात्र नभई देशकै समस्या भएकाले देशकै लागि काम गरिरहेको बताए । उनले गाडी विग्रीएमा गाडी उठाएर लैजाने साधन (र्याकर)को व्यवस्था गर्न आ–आफ्नो पक्षबाट पहल गर्न पनि अनरोध गरे ।

सडक निरिक्षण पछिको छलफल कार्यक्रममा बोल्दै धुनिबेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले बैकल्पिक सडकको रुपमा रहेको धार्के सितापाईला सडकमा गाडी सन्चालन गर्दा नियमित रुपमा पानी ट्याँकरको व्यवस्था गरिनुपर्ने बताए । उनले ठाउँ–ठाउँमा नौबिसे नागढुँगा सडकको मर्मतको लागि सडक कार्यालय, मर्मतको समयमा ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरी सँग समन्वय गरिने बताए ।

यस्तै प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले सडक जामको समस्या कम गर्न आफ्नो तर्फबाट कुनै काम बाँकि नराख्ने बताए ।

यस्तै जिल्ला प्रहरी प्रमुख डम्बर बहादुर विकले सडक जामको समस्या कम गर्न बढी भार र लामो सवारी साधनलाई धार्के आईनपुग्दै दिउँसोको समयमा रोक्ने व्यवस्था गरी रातीको समयमा सन्चालन गर्न दिने गरि काम गर्न पहल भैरहेको बताए ।

यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख हेमराज घिमिरेले सडकमा सवारी साधनको चापको समस्यालाई मध्येनजर गर्दै ट्राफिक व्यवस्थापन भैरहेको बताए । यस्तै डिभिजन सडक कार्यालय धादिङका प्रमुख हरि ठकुरीले सवारी चापका कारण दैनिक हजारौँ यात्रुहरुले सास्ती पाईरहेको यो अवस्थामा सवारी जाम कम गर्न र वैकल्पिक सडकमा साना सवारी साधन सन्चालनका लागि सडकमा काम गरिहेका विभिन्न कम्पनीहरुलाई आफुले समयमा काम गर्न भनिसकेको बताए ।

सडकको निरिक्षण तथा छलफल कार्यक्रममा पुर्व मन्त्री तथा प्रदेश सभासद राजेन्द्र पाण्डे सहित धुनिबेशी नगरपालिकाको मेयर बालकृष्ण आचार्य र प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेय, जिल्ला प्रहरी प्रमुख डम्बर बहादुर विक, जिल्ला ट्राफिक प्रमुख हेमराज घिमिरे, ईलाका प्रहरी कार्यालय खानीखोलाका प्रमुख उद्धव पोखरेल, डिभिजन सडक कार्यालय धादिङका प्रमुख हरि ठकुरी,रेडियो राजमार्गका स्टेशन म्यानेजर आशिष ठकुरी लगायत सहभागी रहेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस