असोज १६, कञ्चनपुर। बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको न्यायको माग गर्दै नेपाल विद्यार्थी संघले आह्वान गरेको बन्दले कञ्चनपुरको जनजीवन प्रभावित भएको छ ।
निर्मलाको बलात्कारपछि हत्या भएको ६७ दिनसम्म पनि सरकारले दोषी पत्ता लगाउन नसकेको भन्दै नेविसंघले आज कञ्चनपुर बन्द आह्वान गरेको हो ।
यस्तै, नेवि संघले आह्वान गरेको बन्दलाई उद्योगी व्यवसायीलेसमेत समर्थन गरेका छन् । बन्दका कारण बिहानैबाट सवारीका साधन चलेका छैनन् ।
बजार, कलकारखाना, उद्योगधन्दा ठप्प भएका छन् भने शिक्षण संस्थासमेत बन्द भएका छन् ।
नेविसंघका विद्यार्थीहरुले बन्द सफल बनाउन आह्वान गर्दै ठाउँठाउँमा नाराजुलुस गरिरहेका छन् ।
उनीहरुले निर्मलाका हत्यारालाई तत्काल पक्राउ गरी सार्वजनिक गर्न माग गरेका छन् ।
यता सरकारले छानविन समितिको प्रतिवेदन सार्वजनिक नगरेको भन्दै महिला अधिकारकर्मीसमेत आन्दोलनमा उत्रिएका छन् ।
उनीहरुले प्रतिवेदन सार्वजनिक नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।