असोज १७,काठमाडौ । निर्माण व्यवसायी शरदकुमार गौचन हत्याको अभियुक्त गुण्डा नाइके समिरमान सिंह बस्नेतलाई मुस्ताङ जेलमा सरुवा गरिएकोप्रति बस्नेतको परिवारले आपत्ति तथा शंका जनाउँदै जीवन रक्षाको माग गरेको छ ।
बुधबार बस्नेतका परिवारले राजधानीमा पत्रकार सम्मेलन गरेर यस्तो आपत्ति जनाएको हो ।
बस्नेतकी श्रीमती माया शेरचन र दाइहरु सुधिरमानसिंह र सुविरमानसिंह बस्नेतले सरकारले जालझेल र षड्यन्त्र गरेर समिरलाई काठमाडौंबाट रातारात मुस्ताङ पुर्याएको भन्दै आपत्ति जनाएका हुन् ।
बस्नेतकी श्रीमती शेरचनले भनिन्, ‘मलाई जानकारी नै नगराई रातारात उनलाई मुस्ताङ लगियो । त्यो दिन राती ६ बजे मुस्ताङ लगिँदैछ भनेर जानकारी दिईएको थियो । म चाहीँ मोटरसाईकलबाट पोखरा गएँ । पोखरामा श्रीमानलाई भेट्दा कहाँ लगिँदैछ भनेर उहाँलाई पनि थाहा नभएको कुरा मसँग भने ।’
त्यही दिन मुस्ताङको लागि लग्ने कुरा भएपनि माथिको आदेश नभएको भन्दै बेनीमै बस्नेतलाई राखिएको उनले जनाइन् । उनले भनिन्,‘भोलिपल्ट मुस्ताङको लागि उहाँलाई त्यहाँबाट जीपमा हालेर लगिएको थियो ।’
उनले आफूलाई प्रहरी प्रशासनले श्रीमानसँग भेट्नसमेत नदिएको गुनासो पोखिन् । उनले भनिन्,‘उनलाई काठमाडौंबाट किन लगियो भन्नेमा हामीलाई शंका छ । उहाँको केश त यहीँ काठमाडौंमै छ । किन काठमाडौंबाट उता लगियो यसमा हाम्रो घोर आपत्ति छ ।
सोमबार उनलाई मुस्ताङको लागि लगिएको भनिएपनि मंगलबार अपरान्हमात्रै उनलाई त्यहाँ पुर्याईयो । यतिवेला उहाँलाई जोमसोम कारागारभित्र राखिएको छ । आज विहानमात्रै मैले उनसँग जम्मा ४ मिनेट भेट्ने मौका पाएँ ।
भेट्दाखेरी उनको घाँटीमा दाग देखें र मैले यसबारेमा श्रीमान्सँग जिज्ञासा राखेको थिएँ । तर, उनले धागो निकाल्दाखेरी यस्तो भएको हो भने । त्यसमा पनि मलाई शंका छ।’
उनले आफ्नो श्रीमानलाई प्रहरी प्रशासनले यसरी काठमाडौं बाहिर लैजानुमा शंका उत्पन्न भएर आज पत्रकार सम्मेलन गर्न आएको पनि बताइन् ।
उनले आफ्नो श्रीमानलाई प्रहरीले इन्काउन्टर गर्ने षड्यन्त्रका साथ जेल सारेको आरोप लगाइन् ।