असोज १८, काठमाडौं । भरतपुर अस्पतालबाट उपचारका लागि काठमाडौं ल्याइँदै गरेका एक बिरामीको ट्राफिक जामका कारण एम्बुलेन्समै मृत्यु भएको छ ।
नौबिसे–नागढुंगा सडकखण्ड पार गर्न घण्टौं लागेपछि चितवनको सौराहा निवासी अन्दाजी ५५ वर्षीया रजनी चौधरीको एम्बुलेन्समै ज्यान गएको हो । भरतपुर अस्पतालमा उपचार हुन नसकेपछि चौधरीलाई काठमाडौं रिफर गरिएको थियो ।
चौधरीलाई बोकेर आएको एम्बुलेन्स मुस्किलले पृथ्वी राजमार्ग पार गरेर आएको थियो । त्रिभुवन राजपथमा पर्ने धुनीबेसी नगरपालिकाको टायलघरमा पुगेपछि चार घण्टासम्म जाममा बस्नु परेको थियो ।
जाममै फसेका बेला बुधबार बिहान करिब १० बजेतिर बिरामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।